साप्ताहिक संवाददाता
नेपाली युवाहरुले सूरु गरेको स्टार्ट–अप (उद्यम) ‘ओया अपर्चुनिटिज’ अमेरिकाको 'क्लिन्टन ग्लोबल इनिसियटिभ' बाट सम्मानित भएको छ । स्थापना भएको एक वर्षभित्र विश्वका ३९ देशमा ब्रान्च फैलाउन सफल ‘ओया अपर्चुनिटिज’ १० हजार डलर (१० लाख ३८ हजार आठ सय रुपैंयाँ) बाट सम्मानित भएको हो ।
‘ओया अपर्चुनिटिज’ ले कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्वभरबाट पाईने छात्रबृत्ति, फेलोसिप, इन्टर्नसिप, कन्फ्रेन्सका बारेमा जानकारी दिन्छ । क्लिन्टन ग्लोबल इनिसियटिभले विश्वभरबाट प्राप्त स्टार्ट–अप मध्येबाट ‘ओया अपर्चुनिटिज’ लाई छानेको हो ।
‘आवेदन बुझाउँदा म मा आशा भने निकै थियो ।’ यो स्टार्ट–अपका संस्थापक खगेन्द्र आचार्यले भने, ‘कार्यक्रमका सिलसिलामा सिंगापुर पुगेका बेला जब हाम्रो सँस्थाले जितेको इमेल पाएँ । तब यो अबसरलाई सदुपयोग गर्नुपर्छ भन्ने लाग्यो ।’
अमेरिकास्थित क्लिन्टन ग्लोबल इनिसियटिभले हरेक वर्ष विश्वभरबाट स्टार्ट–अपमा संलग्नहरुबाट आवेदन आह्वान गर्छ । शिक्षा, युवा, नेतृत्व, शसक्तिकरण लगायत बिभिन्न विधामा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्छ । जसमध्ये हरेक वर्ष शिक्षामा विश्वका तीन वटा स्टार्ट–अपलाई पुरस्कृत गर्छ ।
सन् २०१५ ताका म्यासाचुसेट्स इन्सिट्च्युट् अफ टेक्निोलोजी (एमआईटि) अध्ययन गर्दा खगेन्द्र आचार्यले ‘ओया अपर्चुनिटिज’ को सूरुवात गरेका थिए । यसको प्रमुख कार्यकारी अधिकृत पार्शु अर्याल र चिफ टेक्निकल अफिसरका रुपमा फिरोज घिमिरे आबद्ध छन् ।
त्यस्तै चेन यु तुङले हङकङ, ताईवान र चीनको शाखा हेरिरहेकी छिन्, निसरिन असाका मोडेल युनाइटेड नेसनको चिफ एडिटरको भूमिका निभाईरहेकी छिन् ।