साप्ताहिक संवाददाता
निर्देशक माओत्से गुरुङ्ग नयाँ चलचित्रको तयारीमा छन् । उनले यस पटक नयाँ विषयबस्तु समेटेर ‘सपनाको देश’ नामक चलचित्र बनाउने भएका हुन् । उक्त चलचित्रले पछिल्लो समय धेरैजसो श्रम बजारमा वेचिने नेपालीहरुको कथा उठान गर्ने बताईएको छ ।
तर, निर्देशक गुरुङ्गले भने राम्रो अवसरको लागि अमेरीका पुगेका नेपालीहरुको कथा ‘सपनाको देश’ चलचित्र मार्फत पर्दामा उतार्ने तयारी गरेको बताएका छन् ।
ड्रिम्स गेट फिल्मको ब्यानरमा बन्न लागेको यो चलचित्र नेपाल र अमेरिकामा छायांकन हुनेछ । चलचित्रको २५ प्रतिशत छायांकन नेपाल र बाँकी अमेरिकामा हुने निर्देशक गुरुङले जानकारी दिए ।
करिब ८० लाख लगानीमा बन्न लागेको यो चलचित्रमा बाबु बोगटी, एन्सर्ज गुरुङ, मिरा गुरुङ, आइतराम गुरुङ लगायतका कलाकारले अभिनय गर्ने छन् । देव गुरुङको निर्माण र एन्सर्ज गुरुङले लेखेको यो चलचित्रमा अमेरिकामा पुगेपछि भोग्नुपर्ने कठिनाईहरुलाई कथावस्तु बनाइएको छ ।
चलचित्रको छायांकन शम्भु मोक्तानले गर्ने भएका छन् ।