साप्ताहिक संवाददाता
संस्कृतिविद सत्यमोहन जोशीको जन्मदिनका अवसरमा सार्वजनिक विदा हुने भएको छ । जोशी सय वर्ष पुगेको अवसरमा आगामी वैशाख ३० मा ललितपुर महानगरपालिकाले सार्वजनिक विदा दिन लागेको हो । प्रसिद्ध सस्कृतिविद जोशीको जन्म शताब्दी मनाउन महानगरले एक वर्षभर विभिन्न कार्यक्रम गर्ने समेत जनाएको छ ।
महानगरपालिकाले २०७६ वैशाख ३० गतेदेखि २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम गर्ने समेत जनाएको छ । मुलुकको गरिमालाई उच्च बनाउन निर्वाह गरेको अमूल्य योगदानको सम्मानस्वरुप जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको ललितिपुर महानगरले जनाएको छ ।
मेयरको संयोजकत्वमा समिती
जन्मशताब्दी महोत्सव सफल बनाउनका लागी महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय समिति गठन गरिएको छ । समितिमा राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सांसदहरु, काठमाडौं महानगरपालिकाका मेयरलगायत छिमेकी नगरपालिकाका मेयरलाई पनि समावेश गरिएको छ ।
जन्मदिनका दिन के के हुदैछ ?
जोशीको जन्मदिनका अवसरमा विहान रक्तदान, मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव -याली सहित बाजागाजाकासहित नगर परिक्रमा, विशेष सम्मान, साँझ दिपावली, महानगरपालिकाभित्रका १ सय वर्ष पूरा भएका जेष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम हुने जनाइएको छ ।