साहित्यकार लक्ष्मण सापकोटा अहिले ५१ वर्ष पुगे । उमेरसँगै उनलाई केही वर्षदेखि मुधमेहको समेत समस्या छ, तर यो उमेरमा उनी साहित्यलाई खेलकुदसँग जोडेर नयाँ अभियान चलाइरहेका छन् । सापकोटाले काठमाडौंको नमोबुद्धबाट पोखरा हुँदै लुम्बिनीको करिब ५ सय किलोमिटरको लामो यात्रा दौडिएरै पूरा गरे । नमोबुद्ध लुम्बिनी साहित्यिक दौड २०७६ नाममा जेठ १८ गते सुरु भएको उनको अभियान लुम्बिनीमा पुगेर सम्पन्न भएको छ ।
साहित्यिक जागरण र नेपालमा पर्यटक बढाउने उद्देश्यका साथ दौडमा निस्किएको सापकोटाले बताए । सापकोटाले युवा पुस्तालाई साहित्यमार्फत सकारात्मक सन्देश दिन ठाउँठाउँमा विद्यार्थीहरूलाई जम्मा गरेर कविता वाचनसमेत गरे । ‘याक्राका त्रममा करीब १० हजारभन्दा बढीलाई मैले कविता सुनाए र कतिको कविता पनि सुने ।’– उनले भने । नमोबुद्धबाट सुरु भएको दौड सूर्यबिनायक, थानकोट, नौबिसे, बैरेनी बेनीघाट, मुग्लीन, डुम्रे, थर्पु, पोखरा, स्याङ्जा, पाल्पा, बुटवल हुँदै असार १ गते लुम्बिनी पुगेर सम्पन्न भएको थियो ।
युवाहरूमा साहित्यप्रति रुचि जगाउन सके यसबाट सकारात्मक सोचको विकास हुने सापकोटा बताउँछन् । २०७७ को जेठमा केही साहित्यिक कृति तथा नेपालको झण्डासहित उनी सगरमाथा आरोहण गर्ने तयारीमा छन् । युवा छँदाका तेक्वान्दो खेलाडी सापकोटा धेरै हिमाल भएको नेपालमा हिमाल साहित्यमा जोड दिनुपर्ने सुझाव दिन्छन् । मरुभूमि र समुद्र किनारमा साहित्यकै माध्यमबाट पर्यटक पुगेको तर्क दिँदै उनले साहित्यलाई जोड्दै नेपालको सगरमाथा, हिमाली जडीबुटी, रारा ताल, लुम्बिनी, पशुपतिनाथको प्रवर्द्धनमा लाग्नुपर्ने कुरा बताए ।
सापकोटाले वि.सं. २०७२ मा २ सय १७ किलोमिटरको काठमाडौं–बर्दिबास (बीपी राजमार्ग) तथा वि.सं २०७३ मा १ हजार २६ किलोमिटरको मेची–महाकाली साहित्यिक दौड पूरा गरिसकेका छन् । उनको अर्को पहिचान पनि छ । सापकोटाले काठमाडौमा भानुभक्तको जन्मदिनका अवसरमा भानुभक्तको वेशभूषामा सजिएर बर्सेनि भानु दौड सम्पन्न गर्दै आएका छन् ।