साप्ताहिक संवाददाता
एसिड आक्रमणमा परेकी विरगञ्ज किर्तिपुरकी १४ बर्षिया मुस्कान खातुनलाई बलिउड अभिनेता बरुण धवनले भिडियो सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरेका छन् । उनले मुस्कानलाई छिट्टै निको हुने भन्दै चाँडै भेट्ने समेत जनाएका छन् । त्यस्तै अभिनेत्री कृती सेननले मुस्कानसँग ह्वाट्सएपमार्फत कुराकानी गरेकी छिन् ।
भदौ २० गते विरगञ्जमा बिद्यालयबाट फर्किने क्रममा मुस्कानमाथि एक युवाले एसिड आक्रमण गरेका थिए ।
एसिड आक्रमणमा परेर गम्भिर घाइते भएकी मुस्कानको अहिले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भैरहेको छ । केहि दिनअघि मात्रै सरकारले उनलाई ३ लाख उपलव्ध गराउने जनाएको छ । प्रदेश सरकारले समेत उनको उपचारमा कुनै कमी हुन नदिन अस्पताल समक्ष आग्रह गरेको छ ।
अनुहारको शल्यक्रिया सिध्याएलगत्तै बलिउड अभिनेता धवनले पठाएको भिडियो हेरेर मुस्कान खुसीले भावविह्वल भइन् । त्यस्तै नेपालकी सुन्दर मोडल नीति शाहले पनि उनलाई भेटेकी छिन् ।
भिडियो सन्देशमा धवनले के भने ?
‘हेलो मुस्कान ! तपाईंको उपचारमा राम्रो भैरहेको सुनेर खुसी लाग्यो । राम्रो गर्दै हुुनुहुन्छ । मन दिएर पढ्नु । उपचारबाट निको भएपछि हामी भेट्नेछौं ।
कृतिले भिडियो कलमा के भनिन् ?
तपाई असल व्यक्ति हुनुहुन्छ । अहिले तपाईं उपचारार्थ अस्पताल भर्ना हुनु भएको हुँदा जतिसक्दो चाँडो निको भएर घर फर्कनु होला, मेरो कामना छ । उपचारपछि हामी पक्कै भेट्नेछौं ।
नीति शाहले भेट्न अस्पताल पुगिन्
मिस नेपाल २०१७ की फस्ट रनरअप नीति शाह पनि अस्पताल पुगी खातुनको हिम्मत बढाएकी छिन् । भेटमा उनले मुस्कानको हौसला बढाउने काम गरिन् । साथै, उनले सरकारसँग कडा भन्दा कडा सजाएको माग समेत राखेकी छिन् ।