साप्ताहिक संवाददाता
भारतको प्रतिष्ठित लाइफस्टाइल मोटरसाइक्लिङ प्लेटफर्म, कम्युनिटी र प्रिन्ट म्यागेजिन ‘एक्सबीएचपी’ ले आयोजना गरेको १५ हजार किलोमिटरको रोडट्रिप ‘एक्सबीएचपी डोमिनार ग्रेट एसियन ओडिसी’ काठमाडौं आइपुगेको छ । काठमाडौंको जेनेसिस क्याफेमा राइडरहरूका बीच आज शुक्रबार भेटघाट कार्यक्रम हुँदैछ ।
भारतको नयाँ दिल्लीबाट प्रारम्भ भएको सो रोडट्रिप श्रीलंकामा समापन हुनेछ । उक्त रोडट्रिपमा बाइक राइडरहरू नेपाल, भुटान, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मलेसिया र सिंगापुरका सडक हुँदै विभिन्न देश घुम्ने छन् । गत असोज २६ गते देखि सो रोडट्रिप भारतको नयाँ दिल्लीबाट शुभारम्भ भएको हो र माघ ३ मा श्रीलंकामा समापन हुनेछ ।
तीनवटा बजाज डोमिनार ४०० बाइकमार्फत आयोजित सो रोडट्रिपमा विभिन्न स्थानमा ११ राइडरहरू सम्मिलित हुनेछन् । १५ हजार किलोमिटरको दूरी ११ राइडरले ११ देशमा ९० दिनमा पूरा गर्नेछन् ।