गुरुङ भाषामा ‘काशी’ को अर्थ कान्छी छोरी हो । काशीको अगाडि ‘मन’ जोडे ‘मनकाशी’ हुन्छ । यसअघि पातें (माइली), काशी (कान्छी छोरी) आदि निर्माण गरिसकेका प्रितम गुरुङले यो वर्ष चलचित्र मनकाशीको निर्माण गरेका छन् । ४३ वर्षको उमेरसम्ममा ४५ वटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका प्रितमको चलचित्र मनकाशीको सम्पूर्ण छायांकन लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, ढगैं गाउँमा गरिएको हो ।
आफैंले कथा लेखेका प्रितमले ‘मनकाशी’ लाई होमस्टेसँग जोडेको कुरा बताए । ‘मनकाशीको कथा होमस्टेको प्रचार–प्रसार एवं पर्यटन वर्ष सन् २०२० को प्रवद्र्धन गर्ने खालको छ । कलाकारहरूले राम्रो अभियन गरेका छन्,’ उनले भने । रोधी डिजिटल तथा बेस क्रिएसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको भीआईपी शो बेंसीसहरमा भएको थियो । त्यसअघि यो चलचित्र गोरखामा प्रदर्शन गरिएको थियो । बेंसीसहरमा कात्तिक ३० गते मनकाशीको पब्लिक शो भएको छ ।
फिल्ममा गुरुङ भाषा तथा नेपाली भाषाको प्रयोग आधाआधा जस्तो गरिएको छ । गुरुङ भाषा बोलिएको ठाउँमा सबटाइटल नेपाली भाषामा छ । करिब २ घण्टाको यो चलचित्रमा मस्र्याङ्दी–३ को हर्सिङडाँडाबाट देखिने हिमालहरू तथा बेंसीसहरका रमणीय दृश्य हेर्न पाइन्छ । मनकाशीमा लमजुङे कलाकार विष्णु गुरुङ एवं पोखराकी अनुता गुरुङको मुख्य अभिनय छ भने यसमा टीकाराम घले, आइतराम गुरुङ, डीबी गुरुङ, बीरमाया घले आदिले पनि काम गरेका छन् । मनकाशीमा मौलिकता समेटिएको छ । यसले मायाप्रेम मात्र नभएर गाउँले रहनसहन, कलासंस्कृति, भाषाका साथै पर्यटन प्रवद्र्धनमा गाउँलेहरूको एकता आदिलाई समेत प्रस्तुत गरे ।
यो चलचित्रको छायांकन खेम थापामगरले गरेका हुन् । २० लाख रुपैयाँ लगानी गरिएको यो चलचित्रमा तीनवटा गीत छन् जसमध्ये यसको शीर्ष गीत लोकप्रिय भैसकेको छ । यो चलचित्रका संगीतकार गणेश गुरुङ हुन् । गणेशका साथै आइतराम गुरुङ तथा लोकगायक राजु परियारले यो चलचित्रका गीत लेखेका छन् । चलचित्र मनकाशी मंसिर २६ र २८ गते काठमाडौंमा प्रदर्शन गरिने बताइएको छ ।