साप्ताहिक संवाददाता
मकवानपुरमा रहेर साहित्यमा क्रियाशील आँचल साहित्य कला पुञ्जले हेटौंडामा छ जना स्रष्टालाई सम्मान गरेको छ । जिल्लामा रहेको एक मात्र नारी साहित्यकारको संस्थाले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टालाई सम्मान गरेको हो ।
संस्थाको वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ समालोचक तथा कवि डा. विन्दु शर्मालाई प्रदान गरियो । उनलाई सम्मानपत्रसहित १० हजार राशि प्रदान गरिएको थियो । यो सम्मान समाजसेवी हरिवंश भेटवालले आफ्ना मातापिताको नाममा स्थापना गरेका हुन् ।
यस्तै प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गरिएको छ । सम्मानपत्रसहित उनलाई नगद १० हजार प्रदान गरिएको थियो ।
यस्तै, ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७६ पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । उनलाई सम्मानपत्रसहित नगद ५ हजार ५ सय ५५ प्रदान गरिएको थियो । यो सम्मान प्रकाश लम्सालले पिताको स्मृतिमा स्थापना गरेका हुन् ।
टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ साहित्यकार ललिता दोषीलाई प्रदान गरिएको छ । उनलाई सम्मानपत्रसहित नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । यो सम्मान साहित्यकार रुकु कार्कीले आफ्ना पिता माताको नाममा स्थापना गरेकी हुन् ।
अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ साहित्यकार आरसी रिजाललाई प्रदान गरिएको छ । रिजाललाई सम्मानपत्रसहित १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । यो सम्मान मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना गरेका हुन् ।
यस्तै, मंगलादेवी श्रेष्ठ नवप्रतिभा सम्मान हटियाको त्रिभुवन माविमा कक्षा ८ मा अध्ययनरत ईश्वर लुइँटेललाई प्रदान गरिएको छ । उनलाई सम्मानपत्रसहित ३ हजार ५ सय प्रदान गरिएको थियो । यो सम्मान शिक्षासेवी देवप्रसाद श्रेष्ठले माताको स्मृतिमा स्थापना गरेका हुन् ।