नेपाली संस्कृति र चाडपर्व मन छुने रै’छ,’ अस्ट्रेलियन विद्यार्थी निकाइता योङले भनिन्, ‘विभिन्न संरक्षणसम्बन्धी पत्रपत्रिका, जर्नल र इन्टरनेट सर्च गरें ।’ ‘नेपालको काम सोचेभन्दा राम्रो पाएँ । जहाँ गए पनि नेपाललाई भुल्न नसक्ने छाप पर्यो । यसले मेरो अध्ययनलाई फराकिलो बनायो,’ वातावरण विज्ञानकी योङजस्तै अर्का अस्ट्रेलियन विद्यार्थी स्टेफन हर्टले नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रको काम विश्वमै उदाहरणीय भएको बताए ।
‘यहाँबाट विश्वले धेरै सिक्न सक्छ,’ उनले भने, ‘त्यसैले अन्य देशका संरक्षणकर्मीहरू यहाँ आउनुपर्छ ।’ उनीजस्तै अस्ट्रेलियाका १० जना विद्यार्थी नेपालको जैविक विविधता, संरक्षणका काम, वन्यजन्तु, चरा र चाडपर्व अध्ययन गर्न नेपाल आएका छन् ।
चाल्र्स स्टर्ट विश्वविद्यालय, वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थीहरू शैक्षिक कार्यका लागि यहाँ आएका हुन् । साताभन्दा बढी कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रको अध्ययन–अवलोकन गरी उनीहरू लुम्बिनी आएका थिए । ७ छात्रा र ३ छात्र १ सय पूर्णांकको अन्तर्राष्ट्रिय प्रयोगात्मक अनुभव विषय अध्ययन गर्न यहाँ आएका हुन् ।
उनीहरू लुम्बिनी क्षेत्रस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल पुगे । त्यहाँ उनीहरूले चरा, पानीजन्य वन्यजन्तु तथा उभयचरको अध्ययन गरे । त्यस्तै तराईमा स्थानीय जनताले संरक्षित क्षेत्र कसरी व्यवस्थापन गरेका छन् भन्ने विषयमा जानकारी लिए । विद्यार्थीहरूले रुपन्देही र कपिलवस्तुको जैविक विविधता, पर्यापर्यटन, मानव र चराको सम्बन्धलाई अध्ययनको विषय बनाए । चरा र पर्यापर्यटनलाई स्थानीयले जीविकोपार्जनको माध्यम बनाएको कुरालाई उनीहरूले निकै चाख लिएका थिए ।
विद्यार्थीले कास्कीमा पहाडी क्षेत्रका वन्यजन्तु, चरा र जैविक विविधतासम्बन्धी अध्ययन गरेका थिए । उनीहरूले अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थानीय जनताको सहभागितामा संरक्षित क्षेत्रको संरक्षणलाई चासो दिई अध्ययन गरेको उनीहरूसँगै आएका वातावरण विषयका प्रोफेसर जर्मन नागरिक मिलानो मासारोले बताए । लुम्बिनीपछि विद्यार्थीको टोली चितवन राष्ट्रिय निकुञ्ज पुगेका थिए । त्यहाँ उनीहरूले हिमाल, पहाड र तराईमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा कसरी काम भइरहेको बारे र स्थानीयसँगको सम्बन्धबारेमा अध्ययन गरे । एक महिना नेपालको अध्ययन गरेर उनीहरू गत साता फर्किए ।
विद्यार्थीहरूले विश्वमै नौलो मानिएको प्रकृति र धर्म–संस्कृतिबीचको अन्तरसम्बन्ध, रोचक तथ्य र कथाको अध्ययन गरे । ‘थोरै समयमा सेताम्य हिमाल, पहाडदेखि तराईका हरिया फाँटका वन्यजन्तु, चरा र सिमसार क्षेत्र अवलोकन गर्न पाइने लालसा बोकेर नेपालमा आउँछन्,’ टोलीमा संलग्न चाल्स स्टर्ट विश्वविद्यालयका भिजिटिङ प्रोफेसर डा. हेमसागर बरालले भने ।
‘संरक्षणको क्षेत्रमा नेपालमा नमुना र उदाहरणीय काम भएको मानिन्छ,’ डा. बरालले भने । ‘नेपालको जैविक विविधताको नौलो तथ्य र आकर्षणबारे जानकारी दिन्छौं,’ प्रोफेसर मिलानो मासारोले भने, ‘त्यसपछि विद्यार्थी आफैं आउन हतारिन्छन् ।’ अध्ययनका लागि केही विद्यार्थी भुटान, इस्टटिमोर र कम्बोडिया गएका छन् ।
यहाँ आएपछि निकै मर्मस्पर्शी र रोचक संरक्षणको काम देखेर अब्बल ज्ञान बढेको विद्यार्थी ह्यारीजोन स्मिथले बताए । चरा, प्रकृति संरक्षण र हिमाली दृश्यावलोकनले अनुपम आनन्द दियो । ‘नेपालमा वन्यजन्तु संरक्षण गर्न स्थानीयको योगदान र सहभागिता निकै सराहनीय छ,’ उनले भने, ‘यहाँबाट विश्वले ज्ञान लिनुपर्ने पाएँ ।’
‘नेपालभन्दा अस्ट्रेलिया धेरै ठूलो छ,’ प्रोफेसर मिलानो मासारोले भने, ‘जगदीशपुरमा अस्ट्रेलियामा नदेखेका १५ वटा चरा एक घण्टाभित्रै देखेर रोमाञ्चित बनें । ‘नेपाली धर्म–संस्कृतिले चरा र सरिसृप संरक्षण गरेको देख्दा मन छोयो,’ छात्रा सोफिकेट विनले भनिन्, ‘यसले काग, कुकुर, सर्प र कछुवाको संरक्षणमा निकै सहयोग पुगेको छ । यी अनौठा र प्रेरणादायी काम हुन्,’ ‘जुन अन्त सुनिँदैन ।’
अध्ययनका लागि नेपाल आएका विद्यार्थी यहाँको कला–संस्कृति, रहनसहन, वन्यजन्तु र जैविक विविधता देखेर निकै रमाएको संरक्षणकर्मी शरद सिंहले बताए । ‘विदेशी विद्यार्थीले अध्ययनका लागि नेपाल छान्नु गौरवको विषय हो,’ उनले भने, ‘यसले विदेशमा नेपाल भ्रमण वर्ष–२०२० लाई गतिलो सहयोग गर्छ ।’ यहाँको अध्ययनपछि विद्यार्थीले प्रकाशित गर्ने अनुसन्धानात्मक जर्नलले नेपालको पर्यटकीय विकासका लागि विज्ञापनको काम गर्छ । चाल्र्स स्टर्ट अस्ट्रेलियाको पाँचौं ठूलो विश्वविद्यालय हो । त्यहाँ विभिन्न मुलुकका ३८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।