- चलचित्र विकास बोर्ड अध्यक्षमा राजेश हमालको दाबी !
- विकास बोर्डको अध्यक्षमा महानायकको चर्चा ।
- राजेश हमाल विकास बोर्डको अध्यक्ष हुने पक्का !
यस्ता खालका हेडलाइनमा केहि दिनदेखि समाचार बनिरहेका छन् । धेरै मिडियाले राजेश हमाल ढिलो चाँडो विकास बोर्डको कुर्चीमा बस्ने दाबीका साथ समाचार बनाइरहेका छन् । यस विषयमा मिडियाकर्मीले निरन्तर हमाललाई सम्पर्क गर्न खोजिरहेका छन् । तर, हमाल आफ्नो व्यस्तताका कारण कुनै जवाफ दिएका छैनन् ।
गत मंसिरमा अध्यक्ष केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ । भट्टराईलाई सरकारले दुई वर्षका लागि नियुक्ति गरेको थियो । नौ महिना कार्यकाल सम्हालेका भट्टराईको हृदयाघातका कारण निधन भएपछि हाल यो पद खाली छ ।
त्यसो त रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम पनि चर्चामा छ । तर, उनीहरु सबै आकांक्षी हुन् । हमाल अहिलेका लागि यो पदमा आकांक्षी होइनन् ।
बौद्धिक अभिनेताको छवि बनाएका हमाल प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), सञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायत पावरफुल अधिकांश नेताहरुसँग सिधा पहुँच भएका व्यक्तिका रूपमा चिनिन्छिन् । यदि उनले चाहेको खण्डमा चलचित्र बिकास बोर्डका लागि उनलाई सरकारले सहजै बाटो खोलिदिनेछ, एक अति गोप्य स्रोतले भन्यो, ‘राजेश हमाललाई अहिले विकास बोर्डमा पुगेर खुम्चिएर बस्ने मन छैन । अहिलेलाई उहाँ अध्यक्ष हुने सम्भावना अति न्युन छ ।’
काठमाडौँ एयरपोर्टबाट नेपालगन्ज उड्ने क्रममा गत सोमबार उनले आफु अरु काममा व्यस्त रहेकाले बोर्डमा पुगेर काम गर्ने सम्भावना नरहेको संकेत गरेका थिए । तर, हमाल निकटले भने स्वतस्फुर्त काम गर्ने वातावरण नभएसम्म राजेश हमाल चलचित्र बिकास बोर्ड जाने सम्भावना नरहेको जनाएको छ । स्रोत भन्छ, ‘हमाल जी जस्तो छवि भएको व्यक्ति अहिले वोर्डमा पुगेर विवादमा पर्न चाहनुहुन्न । बोर्डमा अध्यक्ष भइसकेपछि राजनीति हावी हुने भएकाले उहाँको मुड अहिले बोर्डमा अध्यक्ष हुने खालको छैन ।’
राजेश हमाल चलचित्र नखेल्दा पनि सर्वाधिक आम्दानी गर्ने अभिनेतामा पर्छन् । उनी विभिन्न ब्राण्ड, विभिन्न कार्यक्रम, मेला–महोत्सवमा महंगो रकम बुझेर उपस्थित हुने गरेका छन् । नेपाल तथा विदेशका केहि कार्यक्रमको सेड्युअल समेत प्याक भइसकेका कारण हमाल अहिले अन्त ध्यान नदिएको बुझिएको छ । हाल उनी एक चलचित्रको स्क्रिप्टको काममा समेत ध्यान दिनुपरेको सुनाएका छन् ।
झण्डैं ३ सय चलचित्रमा अभिनय गरिसकेका हमाललाई यसअघि पनि पटक–पटक बोर्डको अध्यक्षमा आउन आग्रह गर्ने गरिएको थियो । अहिले पनि निरन्तर सम्बन्धित निकायले उनलाई बोर्ड हाँक्न सुझाएका छन् । तर, उनले यो विषयमा कुनै जवाफ फर्काएका छैनन् ।