२०७२ सालको भूकम्पले भत्काएको भैरवी मन्दिर पुनर्निर्माण हुने भएको छ । नीलकण्ठ नगरपालिकाका–६ सुनौलाबजारमा रहेको मन्दिर १२ करोड रुपैयाँमा पुनर्निर्माण हुने भएको हो । मन्दिरको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले शिलान्यास गरेका हुन् ।
सदरमुकामबाट करिब १६ किमि पूर्व पर्ने उक्त मन्दिर रहेको टाकुरा १६ सय मिटर उचाइमा छ । उक्त मन्दिर पुनर्निर्माणका लागि नीलकण्ठ नगरपालिका–६ र स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमबाट आर्थिक सहयोग जुटाइएको हो । त्यस्तै मन्दिरको पुनर्निर्माणका लागि पुनर्निर्माण समितिले सञ्चालन गरेको महायज्ञबाट २ करोड ५ लाख रुपैयाँ संकलन भएको छ ।
भैरवी मन्दिरलाई ऐतिहासिक, सांस्कृतिक र धार्मिकसँगै पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । मन्दिर क्षेत्रबाट मनास्लु हिमश्रृंखला र धादिङबेंसी आसपासका क्षेत्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति धादिङले ११ करोड ९४ लाख रुपैयाँको डीपीआर तयारपश्चात् मन्दिर निर्माण कार्य अगाडि बढाइएको भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति धादिङका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।