साप्ताहिक संवाददाता
नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
खाडीबाट फर्किएका ती व्यक्तिको रिपोर्टमा मंगलबार राति कोरोना संक्रमण देखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या तीन पुगेको छ ।
संक्रमण देखिएका व्यक्तिको अन्य विवरण भने खुलाइएको छैन् । अहिले ती कोरोना संक्रमित बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ ।
यसअघि गत आइतबार मात्रै नेपालमा कोरोनाको दोस्रो संक्रमित भेटिएका थिए । दोस्रो कोरोना संक्रमित १९ वर्षीया किशोरी ४ चैतमा फ्रान्सबाट काठमाडौं ओर्लिएकी थिइन् । उनी आफूसँग आएका भियतनामका साथीमा कोरोनो पोजेटिभ देखिएपछि टेकु अस्पतालको सम्पर्कमा पुगेकी थिइन् ।
त्यसलगतै उनको स्याम्पल लिएर परीक्षण गर्दा आइतबार मात्रै त्यसको रिपोर्ट पोजेटिभ आएको थियो ।
नेपालमा पहिलो कोरोना संक्रमितको पुष्टी १० माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरेको थियो । नेपालमा पहिलो कोरोना संक्रमण भेटिएका व्यक्ति कोरोनाको इपिसेन्टर मानिएको चीनको वुहानबाट फर्किएका विद्यार्थी रहेका थिए । उनी केही समय अस्पताल बसेपछि निको भएर घर फर्किएका थिए ।
जनस्वास्थ्य प्रयोगशालाका टेकुले सार्वजनिक गरेको तथ्याकअनुसार नेपालमा देखिएका तीन कोरोना संक्रमितमध्ये २ जनाको अहिले आइसोलेसनमा उपचार भैरहेको छ । एकजना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् । प्रयोगशालामा अहिलेसम्म ६ सय ८७ जनाको स्याम्पल परीक्षण गर्दा ६ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन जनामा भने कोरोना पोजेटिभ देखिएको छ ।