कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले धरासायी बन्दै गएको खुद्रा ब्यापारिक संस्थानहरुलाई हङकङ सरकारले ८० हजार हङकङ डलर प्रदान गर्ने भएको छ । महामारी विरुद्ध स्थापना गरिएको ३० बिलियन हङकङ डलरको कोष अन्तर्गत उक्त रकम प्रदान गर्न लागिएको हो ।
नेपाल चेम्बर अफ कर्मस हङकङले सम्पुर्ण नेपाली खुद्रा ब्यापारिक संस्थानहरुलाई राहत रकम आवेदनका लागि मद्धत गर्ने जनाएको छ ।
चेम्बरका उपाध्यक्ष लवकुमार गुरुङ भन्छन्– हङकङमा रहेका कतिपय नेपाली खुद्रा ब्यापारीहरुलाई राहत वितरण भईरहेको बारे जानकारी छैन । कतिपयलाई आवेदन प्रक्रिया झन्झटिलो लागिरहेको होला, कतिपयलाई प्रक्रियाको बारेमा जानकारी नहोला भनेर हामीले सहयोग अभियान थालेका हौ ।
विश्वभरि नै संत्रास मच्चाईरहेको कोभिड १९ बाट नेपालीहरुको लगानी रहेको खुद्रा ब्यापार धरासायी बनिरहेका छन् । चर्को भाडादर, पानी, विजुली, दैनिक खर्च र कर्मचारी तलवले घाटामा गईरहेको ब्यवसायलाई अलिकति भएपनि राहत प्रदान हुन्छ । हाम्रो चेम्बरको टिम उहाहरुलाई निशुल्क सहयोग गर्न तयार छ, गुरुङ थप्छन् ।
चेम्बरको टिमले यहि आईतबार ५ अप्रिल २०२० का दिन जोर्डन स्थित एनआरएनएको अफिसमा दिउसो २ बजेदेखी राती ८ बजेसम्म आवेदनमा सहयोग गर्नेछ । गुरुङ भन्छन् आवश्यकीय प्रमाणपत्र र कागजपत्र ल्याउनुहोस बाकी सम्पुर्ण काममा हाम्रो टिमले सहयोग गर्नेछ ।
आवेदनका लागि कम्पनीको आधिकारिक विजनेस रजिष्ट्रेशन कपि, एमपिएफ स्टेटमेन्ट, कोठा भाडा तिरेको रसिद, पानी विजुली (कुनै एक) को विल तिरेको रसिद, आफ्नो पसल पुरा देखिएको तस्बिर, कम्पनी (पसल) को नाममा रहेको बैंक स्टेटमेन्ट लगायतका कागजपत्र समावेश गर्नुपर्नेछ ।
राहत रकमको लागि अप्रिल १२, २०२० सम्ममा आवेदन भरिसक्नु पर्नेछ । विस्तृत जानकारीका लागि हङकङ सरकारको विशेष प्रशासनिक क्षेत्र अन्र्तगतको एन्टी ईपिडियमिक फन्ट (टुगेदर वी फाईट द भाईरस) को वेवसाईटमा हेर्न सकिने जनाएको छ ।