साप्ताहिक संवाददाता
चैत्र २७, २०७६
विगत २ महिनादेखि बन्द रहेको नेपाल–चीन जोड्ने सिन्धुपलाञ्चोकस्थित तातोपानी नाका खुला भएको छ । चीनबाट अत्यावश्यक सामग्री ढुकानीका लागि बुधबार साँझदेखि उक्त नाका संचालनमा आएको हो ।
चीनमा कोरोना भाइरस (कोभिड–१९) को संत्रास देखिएपछि गत माघ १३ गतेदेखि तातोपानी नाका बन्द भएको थियो । बन्द नाका खोलिएपछि पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क नेपाल भित्रिएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार चेक जाँच गरेर मालबाहक गाडीलाई नेपाल प्रवेश दिइएको छ ।
लामो समयदेखि नाका बन्द भएपछि चीनबाट आउने अत्यावश्यक सामान नेपाल आउन सकेका थिएनन् । नाका खुलेपछि चीनबाट आउने सामान सहज र सर्वसुलभ हुने विश्वास लिइएको छ ।