साप्ताहिक संवाददाता
चैत्र २७, २०७६
काठमाडौं उपत्यका थप विभिन्न ११ स्थानबाट तरकारी तथा फलफूल बिक्री हुने भएको छ ।
लकडाउनको समयमा तरकारी तथा फलफूल वितरण र किनमेललाई सहज बनाउन उपत्यकाका मुख्य ११ स्थानबाट बिक्री थाल्न लागिएको हो ।
बिहीबारदेखि कलंकी चोकबाट बिक्री–वितरण सहज सुरु भएको छ । छिट्टै कोटेश्वर, रत्नपार्क, लैनचौर, चावहिल (गोपिकृष्ण हल), वसुन्धरा, गोंगबु, वनस्थली, बाफल र स्वयम्भूबाट वितरण सुरु हुने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दियो ।
कालिमाटीमा थोक तथा खुद्रा तरकारी बिक्रि–वितरण गर्नेको भिड बढेपछि त्यसलाई कम गर्न यी स्थानबाट बिक्री थालिएको हो । यसअघि कालिमाटीमा दैनिक हजारौँ मानिसको भिडभाड हुँदै आएको थियो ।