साप्ताहिक संवाददाता
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा हालसम्म कसैको मृत्यु भएको छैन । तर, विश्वभर छरिएर रहेका नेपालीको भने मृत्यु भइरहेको छ । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १० नेपालीको मृत्यु भएको छ ।
बेलायतमा सबैभन्दा बढी ६ नेपालीको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा चितवनका ४० वर्षीय प्रशान्त अर्याल, पर्वतका ५९ वर्षीय चेतप्रसाद गुरुङ, सोलुखुम्बुका ५८ वर्षीय शिव श्रेष्ठ, पर्वतका ५६ वर्षीय भूतपूर्व गोर्खा सैनिक मेखबहादुर गुरुङ र ६६ वर्षीय लिलाबहादुर राई को मृत्यु भएको हो । पारिवारीक भेटघाटका लागि बेलायत पुगेका अर्का ७६ वर्षीय बृद्धको भने परिचय खुलाइएको छैन ।
त्यस्तै, कोरोना संक्रमणका कारण अमेरिकामा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर घर भएका ५० वर्षीय अनिल लिम्बु, सोलुखुम्बुका ४३ वर्षीय ङिमा तेम्बा शर्पा र मुस्ताङका ४८ वर्षीय थोंग्वेन विष्ट रहेका छन् । ४० वर्षीय सोनाम लामाको कोरोनाका कारण मृत्यु भए–नभएको पुष्टी भएको छैन । उनलाई उपचारपछि अस्पतालले घरमै बसेर आराम गर्न भनेकाले कोरोना पुष्टी नभएको हो । कोरोनाका कारण मृत्यु भएको भनिएका अर्का नेपाली अजयमान छोचुको भने हृदयघातका कारण मृत्यु भएको हो । उनी उपचाररत अस्पतालले अजयमानको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ रहेको जनाकारी दिएको छ ।
कोरोना संक्रमणबाट संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीकी ४० वर्षीया बिनु पराजुलीको संक्रमणका कारण मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जानकारी दियो ।
युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया र खाडी मुलुकमा गरी हालसम्म कम्तिमा ८ सय नेपालीमा कोरोना संक्रमण भएको अनुमान गरिएको छ । यस सम्बन्धमा कुनै आधिकारीक तथ्यांक भने सार्वजनिक भएको छैन । गत साता सार्वजनिक गैरआवासीय नेपाली संघ (एनआरएन) को ग्लोबल हेल्थ कमिटीको रिपोर्टमा अमेरिकामा ५ सय नेपालीमा कोरोना संक्रमण फैलिएको उल्लेख छ ।