साप्ताहिक संवाददाता
वैशाख ४, २०७७
सुर्खेतको वीरेन्द्रनगरमा बन्दाबन्दी (लकडाउन) अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइने भएको छ । नगरपालिकामा आउने विदेशी अन्य जिल्ला वा पालिका बाहिरबाट आउने पाहुना तथा नातेदार व्यक्तिलाई घरमा प्रवेश गर्न नदिइने भएको छ ।
विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नगर बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाइने भएको हो । नगर कार्यपालिकाको बैठकले बाहिरबाट आउने पाहुनालाई घरमा प्रवेश गर्न नदिने निर्णय गरेको कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले बताए ।
‘नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई प्रवेश नगराउन सम्पुर्ण नगरवासीमा वडामार्फत अनुरोध गरेका छौ’, कार्यवाहक नगरप्रमुख ढकालले भने, ‘अत्यावश्यक भई बाहिरबाट आउनै पर्ने भएमा होम क्वारेन्टाइन कायम गरी रहन बस्ने व्यवस्था गर्ने तयारी गरेका छौँ ।’