साप्ताहिक संवाददाता
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म बिभिन्न मुलुकमा २८ जना नेपालीको मृत्यु भइसकेको छ ।
गैर आवाशिय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जनाको निधन भएको हो ।
स्वास्थ्य उपसमितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ गैरआवासीय नेपाली अहिले कोरोना भाइरसबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो तथ्यांक अनुसार २१ देशमा रहेका नेपालीलाई कोभिड –१९ संक्रमण भएको देखिएको छ ।
नेपालमा भने १९ हजार ५ सय ५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।
संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब ७ सय, बेलायतमा २ सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा ४/४ , क्यानडा र मलेसियामा ३/३, माल्टामा २ तथा फ्रान्स, जापान, म्यान्मा र हंङकंङमा १/१ जना रहेका छन् ।
विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ ।