साप्ताहिक संवाददाता
वैशाख १०, २०७७
आख्यानकार पिटर जे. कार्थकको ७६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित कार्थकको हरिसिद्धीस्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
उपन्यासकार कार्थकले लेखेको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ नामक उपन्यास नेपाली पाठक माझ लोकप्रिय छ । कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ साझा पुरस्कार प्राप्त कृति हो । उनको ‘पिटरका कथाहरू’ कथासंग्रह, ‘नेपाली म्युजिक मेकर्स’ लगायतका कृति प्रकाशित छन् ।
भारतको सिलोङमा जन्मिएका कार्थक सन् १९६६ मा काठमाडौं आएका थिए । उनले १९७१ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका थिए । पिटर लामो समयसम्म द काठमाण्डू पोस्ट, रिपब्लिकालगायतका अंग्रेजी दैनिक पत्रिकामा साहित्यिक सम्पादकका रुपमा आबद्ध थिए ।