साप्ताहिक संवाददाता
वैशाख १३, २०७७
निर्देशक नेत्र गुरुङले नयाँ चलचित्र निर्देशनको तयारीमा जुटेका छन् । कोरोना भाइरसका कारण सुटिङ, चलचित्र प्रदर्शन र सिनेमाका अरू गतिविधि रोकिएको भए पनि गुरुङले यसै बेला नयाँ चलचित्र ‘खैलाबैला’ दर्ता गरेका छन् । उनी अहिले सिनेमाको पटकथा लेखनमा सक्रिय छन् ।
‘यतिबेला पटकथा लेखनमा व्यस्त छु, लकडाउनपछि अफिसियल रूपमा औपचारिक जानकारी गराउँछु,’ उनले भने । ‘माया यो कस्तो माया’बाट चलचित्र निर्देशनमा डेब्यू गरेका पोखराका गुरुङले ‘सुनामी’ र ‘नाइके’ चलचित्र निर्देशन गरिसकेका छन् ।
२०६६ सालमा पोखरेली गायक विवेक केसीको ‘एक्लो थिएँ’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरी निर्देशन क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । उनी गायक पनि हुन् । हालसम्म उनले झन्डै ३० गीतमा उनले आवाज दिएका छन् ।