अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) सँगको सहकार्यमा आईएमजी-रिलायन्सले विश्वचर्चित खेलाडीहरू समावेश गरेर अक्टोबर १२ देखि डिसेम्बर २० सम्म इन्डियन सुपर लिग (आईएसएल) सञ्चालन गर्ने तयारी पूरा गरिसकेको छ। सुरुमा सन् २०१४ को जनवरीमै प्रतियोगिता सम्पन्न गर्ने घोषणा गरिएको थियो, तर भएन। हुन त यो फुटबल लिग २०१२ देखि नै बर्सेनि सञ्चालन गर्ने भन्दै स्थगित गरिँदै आएको थियो। यसपल्ट भने यो लिग रोकिने छाँट छैन। आयोजक आईएमजी-रिलायन्समा भारतकै सबैभन्दा धनी मुकेश अम्बानी, स्पोर्ट्स म्यानेजमेन्टको विश्वविख्यात अमेरिकी कम्पनी आईएमजी तथा संसारकै सर्वाधिक धनाड्य सञ्चार व्यवसायी रुपच मुर्डोचको स्वामित्वको स्टार टिभीले लगानी गरेका छन्। आईएसएलमा 'फ्रेन्चाइज' शैलीका आठ टिमले प्रतिस्पर्धा गर्नेछन्, जसले भारतका आठवटा सहरको प्रतिनिधित्व गर्छन् र त्यसमा पनि धनाढ्य र चर्चितहरूकै लगानी छ।
सलमान खान, रणवीर कपूर, जोन अब्राहम, अभिषेक बच्चनजस्ता बलिउड स्टार, क्रिकेटका महान् हस्ती सचिन तेन्दुलकर, सौरभ गांगुली एवं भारतका ठूला व्यवसायिक घरानाहरू इन्डियन सुपर लिग फुटबल टिमका मालिक भएका छन्। अभिषेक बच्चन चेन्नाई, सचिन केरला, रणवीर मुम्बई, जोन अब्राहम नर्थ इस्ट तथा सलमान खान पुनेका मालिक हुन्। विश्वकै उत्कृष्ट मानिएको स्पेनी ला लिगा च्याम्पियन एट्लेटिको म्याडि्रडले कोलकाताको टिममा लगानी गरेको छ।
आईएसएलको पहिलो संस्करण एट्लेटिको डे कोलकाता, दिल्ली डायनमोज, केरला ब्लास्टर्स, मुम्बई सिटी, गुवहाटीको नर्थ इस्ट युनाइटेड, पुने सिटी, चेन्नाई तथा गोवाको सहभागिता रहनेछ। होम-एन्ड अवेका आधारमा हुने यसपटकको प्रतियोगितामा कुनै पनि टिम रेलिगेसनमा पर्नेछैनन्। स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने आईएसएलमा १४-१४ खेलपछिका शीर्ष चारले सेमिफाइनलमा अवसर पाउनेछन्।
फुटबलको दीर्घकालीन विकासको योजनाका साथ अघि बढेको आईएसएलका प्रत्येक टिमले कम्तीमा १४ भारतीय खेलाडी राख्नैपर्ने नियम छ। त्यसमध्ये चार जना सम्बन्धित सहरको हुनुपर्नेछ। आठ टिमले भारतीय खेलाडीका लागि मात्र भारु २४ करोड लगानी गरेका छन्। प्रत्येक क्लबले एक विशेषसहित ७ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ भने बढीमा १० जना विदेशी खेलाडी राख्न पाइन्छ। अहिले विभिन्न टिमले एउटै विदेशी खेलाडीका लागि भारु १ करोडसम्म तिरेका छन्।
पुने सिटीले सन् १९९८ को विश्वकप तथा २००० को युरो कप च्याम्पियन फ्रान्सका फरवार्ड डेविड ट्रेज्ग्वेटलाई विशेष खेलाडीका रूपमा भित्र्याएको छ। डेविडले इटालीको सर्वाधिक सफल क्लब युभेन्ट्सबाट ११ वर्ष खेलेका थिए। नर्थ इस्ट युनाइटेडले विश्वकप २०१० तथा युरो २००८ च्याम्पियन स्पेनका डिफेन्डर जोअन क्याप्डेभिलालाई विशेष खेलाडी बनाएको छ।
स्पेनकै विंगर लुईस गार्सिया एट्लेटिको डे कोलकाताका विशेष खेलाडी हुन्। उनले स्पेनको राष्ट्रिय टिम, बार्सिलोना, एट्लेटिको म्याडि्रड तथा लिभरपुलबाट खेलीसकेका छन्। आठ वर्षअघि विश्वकप जित्ने इटालियन टिमका हस्ती एलेसान्ड्रो डेल पिएरो दिल्ली डायनमोजका 'मार्की' हुन्। उनी इटालियन फुटबलको इतिहासमा सर्वाधिक गोल गर्नेहरू सूचीको दोस्रो नम्बरमा छन्। तीनपल्ट विश्वकप र चारपल्ट युरो कप खेलेका पिएरोले इटालियन महरथी युभेन्ट्सबाट लगातार १९ वर्ष खेल्दा आठ सिरि 'ए' उपाधि, एक युईएफए च्याम्पियन्स लिगसहित क्लब फुटबलमा संभव सबै उपलब्धि हात पारेका थिए।
इङ्ल्यान्डका डेेविड जेम्स केरला ब्लास्टर्सका विशेष खेलाडी एवं प्रशिक्ष्ाक हुन्। इङल्यान्डबाट ५३ क्याप जितेका जेम्सले लिभरपुल र म्यानचेस्टर सिटीका गोलपोस्ट पनि सम्हालेका छन्। केरलाले न्युकासल, कार्डिफ र सन्डरल्यान्डबाट खेलेका ३० वषर्ीय फरवार्ड माइकल चोपरालाई आफ्नो बनाएको छ। व्यवसायिक फुटबलबाट टाढिँदै गएका युरोपेली तथा दक्षिण अमेरिकी खेलाडीहरू आएईएसएल खेल्न ओइरिएका छन्। अफ्रिकी, कोरियन तथा उत्तर अमेरिकीसहित ६९ विदेशी खेलाडी इन्डियन लिगका लागि दर्ता भैसकेका छन्।
चेन्नाईले विश्व वर्ष खेलाडी भैसकेका ब्राजिलियन रोनाल्डिन्होसँग कुरा गरिरहेको छ। उनी हाल ब्राजिलकै क्लब फुटबल खेलीरहेका छन्। प्रशिक्ष्ाकहरू पनि नाम चलेकै ल्याइएको छ। बोलिभिया र भ्यालेन्सियाका पूर्वशिक्ष्ाक एन्टोनियो लोपेज हाबास कोलकाता आएका छन्। बेल्जियमका हार्म भान भेल्डहोभनले दिल्ली, एभर्टनका पूर्वप्रशिक्षक पिटर रिडले मुम्बई, न्यूजिल्यान्डका पूर्वप्रशिक्ष्ाक रिक्की हर्बटले नर्थ इस्ट तथा २३ वर्ष इटालियन क्लबमा प्रमुख रहिसकेका फ्रान्को कोलोम्बाले पुनेको टिम सम्हाल्दैछन्।