पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई १-१ को बराबरीमा रोक्नु नेपाली फुटबलका लागि सामान्य नतिजा थिएन। नियमित कप्तान बिमल घर्तीमगरको अनुपस्थितिमा सुनिल बलले इन्ज्युरी टाइमको चौथो मिनेटमा गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए। त्यसपछि नेपालले कुवेतलाई २-१ ले हरायो। उक्त खेलमा १ गोल आत्मघातीका रूपमा प्राप्त भएको थियो भने अर्को गोल कप्तान विमलले पेनाल्टीमार्फत गरेका थिए।
कुवेतविरुद्धको जित ऐतिहासिक थियो। किनभने त्यसअघि एएफसी यू-१६ (सन् २००६ सम्म यू-१७ का रूपमा सञ्चालित) मा नेपालले कुनै पनि खेल जितेको थिएन। सुनीलले उज्वेकिस्तानविरुद्ध गरेको गोल त १४ वर्षपछि एएफसी यू-१६ मा नेपालको पहिलो गोल थियो। सन् २००० मा भियतनाममा भएको प्रतियोगिताको पहिलो खेलमा चीनसँग ६-२ ले हारेपछि लगातार ६ खेलसम्म नेपालले गोल गर्न सकेको थिएन।
समूह चरणको अन्तिम खेलमा शुक्रबार उत्तर कोरियासँग ४-१ ले हारेपछि नेपाली टिमको यू-१७ विश्वकप खेल्ने सपना अधुरै रह्यो। चार वर्षअघिको च्याम्पियन कोरियन टिमविरुद्धको हारसँगै नेपाल एएफसी यू-१६ को समूह चरणबाटै घर फर्कियो। विश्वकप खेल्ने सपना तुहिएपनि यो टिमले नेपालीहरूमा पनि उच्च स्तरको खेल खेल्न सक्ने खुबी भएको कुरा भने प्रमाणित गर्यो।
कोरियाविरुद्ध गोल गर्नु पनि चानचुने थिएन। उक्त गोल अनन्त तामाङले गरेका थिए। जुझारु खेल देखाएको नेपालले दोस्रो हाफमा कोरियालाई गोल गर्नबाट रोकेको थियो। सबै गोल पहिलो हाफमै भएका थिए। क्वाटरफाइनल प्रवेशका लागि नेपाललाई कोरियाविरुद्ध बराबरी नतिजा पर्याप्त हुने थियो। त्यसमा पराजित भए अर्को खेलमा कुवेतले डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई ठूलो अन्तरले हराउनु जरुरी थियो। अन्त्यमा उक्त हिसाब नेपालका लागि अनुकूल भएन।
उज्वेकस्तान कुवेतलाई ४-२ ले हराएर ७ अंकसहित समूह 'सी' विजेता भयो। कोरियाले ६ अंक जोड्दै उपविजेताका रूपमा अन्तिम आठको यात्रा तय गर्यो। ४ अंक जोडेको नेपालको चुनौती समूह चरणमै समाप्त भयो। सबै खेल हारेको कुवेत अंकविहीन रह्यो। पहिलोपल्ट छनोट चरण पार गरेर फाइनल खेलेको नेपालले सन् २००० मा चारवटै खेल हारेको थियो। दोस्रोपल्ट (२००६) दुई हार र एक बराबरी खेल्यो।
त्यसको आठ वर्षपछि महादेशीय प्रतियोगितामा फर्किएको नेपालले बैंककमा एक जित, एक बराबरी तथा एक हारको नतिजा निकाल्यो। त्यसैले तीन सहभागितामा सबैभन्दा राम्रो खेलेको यसैपालि हो। बेल्जियम र दक्षिण कोरियामा भएको अभ्यास तथा स्वदेशमै लगातार तीन बर्षको प्रशिक्ष्ाणको प्रतिफल हो यो। यसरी नै अरू टिमलाई पनि निरन्तर प्रशिक्ष्ाण दिएर उच्च स्तरका टिमविरुद्ध खेल्ने अवसर दिने हो भने नेपाली खेलाडीहरूबाट पनि योभन्दा राम्रो प्रदर्शन एवं नतिजाको आशा गर्न सकिन्छ।