समितिका अध्यक्ष गोपाल खेतान भन्छन्— मैदानमा माटो भर्ने काम सम्पन्न भैसकेकाले अब मैदानवरिपरि नाला बनाउने काम सुरु गरिनेछ । ६ सय २७ फिट लामो र ३ सय ६४ फिट चौडा उक्त रंगशालामा १५ हजार क्युविक फिट माटो भरेर भुइँको सतह करिब ३ फिट अग्लो बनाइएको छ ।
अब मैदानको चारैतिर पानीको निकासका लागि नाला शौचालय तथा मञ्च बनाउने योजना छ । यसका साथै मैदानको वरिपरि बत्तीको समेत व्यवस्था गरिने छ । हाल जारी निर्माण कार्यमा वीरगन्ज उपमहानगरपालिकाले प्राविधिक सहयोग गरेको छ । ‘यही गतिमा काम भैरहे एक महिनाभित्रै काम सकिने हाम्रो अनुमान छ,’ खेतानले भने, ‘वर्षा लाग्नुअघि काम सक्ने लक्ष्यका साथ हामी अहोरात्र जुटेका छौं ।’
सुविधासम्पन्न खेल मैदान निर्माण गरेर दिवा–रात्रि खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने वातावरण बनाउने लक्ष्य छ– खेतानले बताए । समितिका सचिव मुुरली जालान नगरको केन्द्रमा भए पनि नियमित मर्मत सम्भार नगरिँदा उक्त रंगशाला जीर्ण भएकाले स्थानीय बासिन्दाको नाताले जिम्मेवारी बोध गर्दै आफूहरू यसको भौतिक अवस्था सुधार गर्न आफैं लगानी गर्न पनि तयार भएको बताउँछन् ।