सन् १९८८ मा सोलमा भएको ग्रीष्मकालीन ओलम्पिकमा प्रदर्शन खेलका रूपमा समावेश गरिएको तेक्वान्दोमा विधान लामाले कांस्य पदक जितेका थिए । त्यो नै नेपालले बृहत् अन्तर्राष्ट्रिय खेलकुदमा जितेको सबैभन्दा ठूलो पदक हो । ‘वाइल्ड कार्ड’ बिना त नेपालको ओलम्पिक सहभागिता पनि सपनाजस्तै भएको छ । पाँच दशकको इतिहासमा दुई नेपाली खेलाडीले मात्र छनोट भएर ओलम्पिक खेलेका छन् । अर्थात ओलम्पिक पदक जित्ने नेपालको आशा अहिलेसम्म सपनामै सीमित छ ।
ओलम्पिकपछिको प्रतिष्ठित एसियाली खेलकुदमा पनि नेपाल कांस्य पदकका लागि समेत भाग्यमा निर्भर हुन थालेको छ । त्यसैले दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय पदक जित्न सकिने सबैभन्दा राम्रो ‘प्लेटफर्म’मा परिणत भएको छ । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग दुई–दुई वर्षमा आयोजना गर्ने सहमति भएको थियो तर बितेको ४२ वर्षमा बल्ल १२ औं संस्करण आयोजनाको संघारमा आइपुगेको छ । १२ औं साग माघ २३ देखि फागुन ४ गतेसम्म भारतको गुवाहाटी र सिलोङमा हुँदैछ ।
दक्षिण एसियाली खेलाडीहरू अहिले सागलाई लक्षित गर्दै अन्तिम तयारीमा जुटेका छन् । यसपल्ट सागमा २३ खेल समावेश गरिएको छ । यसमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका २ हजार ६ सयभन्दा बढी खेलाडी सहभागी हुने अनुमान छ । उनीहरूले कुल २ सय २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली खेलाडी सबै खेलमा सहभागी हँुदैछन् । सागका लागि नेपाली खेलाडीहरूको अन्तिम छनौट गत मंगलबार सम्पन्न भएको छ । उनीहरूलाई चरणबद्ध रूपमा पुस ९ गतेदेखि नै बन्द प्रशिक्षणमा सहभागी गराइएको छ ।
पछिल्ला चार संस्करणमा नेपाललाई निरन्तर स्वर्ण पदक दिलाउँदै आएको तेक्वान्दोका लागि खेलाडी छनौट सबैभन्दा अन्तिममा सकिएको हो र यसको बन्द प्रशिक्षण गत बुधबार नै प्रारम्भ भएको छ । सागका सबै अर्थात् २३ खेलमै पहिलोपल्ट महिला तथा पुरुष स्पर्धा समावेश छ । यसमा कुल ३ सय ८६ नेपाली खेलाडी सहभागी हुदैंछन् । त्यसका लागि १ सय ९१ पुरुष तथा १ सय ९५ महिला छनोट भएका छन् । हकीमा भने सरकारले महिला टिमको मात्र खर्च बेहोर्ने छ । त्यसैले पुरुष हकीमा नेपालको सहभागिता निश्चित भैसकेको छैन ।
अधिकांश खेलको बन्द प्रशिक्षण काठमाडौंको चिसोमै सञ्चालन गरिएको छ । केही खेलको तयारी भने काठमाडौंबाहिर पनि भैरहेको छ । पदक जित्ने सम्भावना भएका केही खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भैरहेको बताउँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले भनेका छन्— ‘केही खेलमा स्तरवृद्धिका निम्ति विदेशी प्रशिक्षकलाई नै नेपाल ल्याउँदैछौं ।’
सागमा पहिलोपल्ट समावेश गरिएको ट्रायथलनका लागि स्विडेन र भलिबलका लागि इरानबाट आएका प्रशिक्षकले नेपाली टिम सम्हालिरहेका छन् । महिला भलिबल टिमले थाइल्यान्ड जाने प्रस्ताव गरेको छ । अन्य केही खेलको बन्द प्रशिक्षण पनि भारतमा गर्ने योजना छ ।