नेपालका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) को नतिजा २३ वर्षयताकै सबैभन्दा खराब रह्यो । बृहत् खेलकुदमा स्वर्ण पदकका आधारमा पदक तालिका तयार पारिन्छ । यस आधारमा ३ स्वर्ण पदक जितेको नेपाल १२ औं सागमा छैटौं स्थानमा रह्यो । नेपालले यसपालि स्वर्ण पदक जित्न असफल दुई देश (भुटान र माल्दिभ्स) लाई मात्र उछिन्न सक्यो ।
भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं सागमा नेपाललाई १६ वर्षीया उसु खेलाडी नीमा घर्तीमगर, जुडो खेलाडी फुपू ल्हामु खत्री तथा पुरुष फुटबल टिमले स्वर्ण पदक दिलाएका थिए । नेपालले थप २३ रजत एवं ३४ कांस्यसहित कुल ६० पदक हात पार्यो ।
पदक संख्या हेर्दा आठौं संस्करण (६५ पदक) पछि साग खेलकुदमा यसै पटक समग्रमा सबैभन्दा धेरै पदक प्राप्त भएको हो । यसैलाई लिएर राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट १२ औं सागको नतिजाबाट असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘स्वर्ण पदकलाई मात्र हेरेर विश्लेषण गर्नुभएन,’ जुडोका पदक विजेता खेलाडीको सम्मानमा आयोजित कार्यक्रममा विष्टले भने, ‘कुल पदकको हिसाबमा हामीले ११ औं सागभन्दा झन्डै दोब्बर पदक जितेका छौं । यसलाई लिएर खुसी मान्नुपर्छ ।’
देशको खेलकुदको सर्वोच्च निकायको प्रमुखका रूपमा यसरी बोलिरहँदा विष्टले बृहत् खेलकुद प्रतियोगितामा स्वर्ण पदककै आधारमा पदक तालिका तय गरिन्छ भन्ने तथ्यलाई भने नजर अन्दाज गरे । ‘हामी कमजोर भएका होइनौं, अरू देशले हामीभन्दा धेरै प्रगति गरेका हुन् । त्यसैले स्वर्ण पदक कम भएको हो,’ विष्टले भने । आफ्नै नेतृत्वमा रहेको संस्थाले सागको एक महिनाअघिसम्म पनि बजेट ल्याउन नसकेको विष्टले खुलेरै बताए । पूर्ण बजेट ल्याउन नसकेपछि परिषद्ले विभिन्न शीर्षकबाट रकमान्तर गरेर खेल संघहरूलाई तयारीका लागि सागको मुखमा आएर बजेट उपलब्ध गराएको थियो । त्यसैले वैदेशिक प्रशिक्षण, स्वदेशमै बन्द प्रशिक्षण एवं विदेशी प्रशिक्षक झिकाएर गर्ने भनिएको तयारी प्रभावित भएको थियो ।
बढीमा एक महिना मात्र बन्द प्रशिक्षण भएकाले यसपालि कुनै पनि खेलाडीले नेपाललाई स्वर्ण पदक जिताउँछन् भनेर ठोकुवा गर्न सक्ने अवस्था थिएन । मंसिरमा पूर्वाञ्चलमा गर्ने भनिएको सातौं राष्ट्रिय खेलकुद भारतको नाकाबन्दीका कारण परिषद्ले सागपछि आयोजना गर्ने निर्णय गर्यो र त्यसले पनि सागको तयारीमा नकारात्मक प्रभाव पार्यो । परिषद्ले खेलाडीलाई प्रतिस्पर्धाका लागि त्यसको विकल्प पनि दिन सकेन । धेरै संघले खेलाडी छनोट गरेर बन्द प्रशिक्षणको औपचारिकता मात्र पूरा गरे । खेलाडीहरूलाई एक्सपोजर पुगेन । त्यसैले पनि सागमा नेपालको स्तर खस्किएको हो ।
बक्सिङ, जुडो, टेबलटेनिस, बास्केटबल, खोखो, हकी आदि केही खेललाई मात्र वैदेशिक प्रशिक्षणमा पठाइयो । टिम गुवाहाटी पुगेर पनि भारतको आन्तरिक कलहका कारण फिवा एसियाले सागमा बास्केटबल सञ्चालन गर्ने स्वीकृति दिएन । बास्केटबलसहित सागमा समावेश २३ खेलमा ३ सय ८४ नेपाली खेलाडीको नाम दर्ता गरिएको थियो । हकीमा नेपाली पुरुष टिम थिएन र महिलातर्फ नेपालले खेल्नुअघि नै पदक प्राप्त गर्ने कुरा पक्का भैसकेको थियो । अरु सबै खेलको पुरुष र महिला स्पर्धामा नेपालको सहभागिता थियो । चार खेलमा मात्र पदकविहीन भए पनि धेरैमा नेपालको चुनौती सके कांस्य हात पार्ने, नसके अन्तिम स्थान प्राप्त गर्ने खालको देखियो ।
सागको इतिहासमा नेपाललाई सर्वाधिक २४ स्वर्ण पदक दिलाएको तेक्वान्दोमा यसपालि नेपालले स्वर्ण पदक जित्न सकेन, जुन कमजोरीको नयाँ अध्याय हो । तेक्वान्दोमा सहभागि १३ मध्ये ७ नेपाली खेलाडीले रजत पदक जिते भने ३ खेलाडीले कांस्य पदक जिते । एथलेटिक्समा नेपाललाई एक कांस्य पदक मात्र हात लाग्यो र नेपाल म्याराथनमा पहिलोपल्ट पदकविहीन रह्यो । बक्सिङमा प्राप्त ३ कांस्य पदक पनि अहिलेसम्मकै सबैभन्दा फितलो नतिजा हो । उसुमा एकमात्र स्वर्ण पदक पनि अर्को फितलो नतिजा हो । १ स्वर्ण, १० रजत तथा १ कांस्य हात पारेको उसुका धेरै खेलाडी जुनियर छन् । त्यसैले यो खेलमा भविष्यमा राम्रो नतिजाको आशा गर्ने ठाउँ छ ।
सन् २००४ को नवौं संस्करणको दक्षिण एसियाली खेलकुददेखि मात्र सहभागिता जनाउन थालेको अफगानिस्तानले ७ स्वर्ण पदक जित्दै यसैपालि नेपाललाई पदक तालिकामा पछाडि पार्यो । दक्षिण एसियाली महारथी भारतले १ सय ८८ स्वर्ण पदक जित्यो भने श्रीलंकाले २५ तथा बंगलादेशले ४ स्वर्ण पदक हात पारे ।
नेपालले फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जित्यो र यो यु–२३ टिमको पहिलो उपाधि पनि हो । ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा भने राष्ट्रिय टिमले नेपालका लागि एकमात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि त्यसयताकै खराब प्रतियोगिता सावित भयो १२ औं साग । नेपालले मद्रासमा भएको सातौं साफ गेम्समा ४, काठमाडौंमा भएको आठौंमा ३१, इस्लामावादमा भएको नवौंमा ७, कोलोम्बोमा भएको दसौंमा ७ तथा ढाकामा भएको ११ औं संस्करणमा ८ स्वर्ण पदक हात पारेको थियो ।
जुडोमा फुपुले प्राप्त गरेको स्वर्ण पदक दक्षिण एसियाली खेलकुदमा नेपाली महिलाले जुडोतर्फ प्राप्त गरेको पहिलो स्वर्ण पदक हो र जुडोमा २१ वर्षयताको पहिलो स्वर्णपदक । जुडोमा यसपालि नेपालले १ स्वर्ण, २ रजत र ६ कांस्य जित्दै राम्रो सम्भावना देखायो । यू–२३ फुटबल टिम (पुरुष) को प्रदर्शन पनि गतिलो थियो । त्यसैले त २३ वर्षपछि स्वर्ण हात लाग्यो ।
अर्को सकारात्मक नतिजा पौडीमा देखियो । लन्डनमा प्रशिक्षण गरिरहेकी १३ वर्षीया स्वीमर गौरिका सिंहले नेपाललाई ऐतिहासिक रजतसहित चार पदक दिलाइन् र १२ औं सागमा पौडीतर्फ नेपालका लागि २० राष्ट्रिय कीर्तिमान बने । त्यसमध्ये १० कीर्तिमानमा गौरिकाको योगदान छ । यिनै गौरिका, यू–२३ फुटबल टिम, नीमा एवं फुपूले १२ औं सागमा नेपाली अनुहारलाई उज्यालो बनाउने प्रयास गरे ।
१२ औं सागमा नेपाल
पदक : ३ स्वर्ण, २३ रजत, ३४ कांस्य
नेपालले पदक जितेका खेल
फुटबल, उसु, जुडो, पौडी, भारोत्तोलन, तेक्वान्दो, ट्रायथलन, ब्याडमिन्टन, टेबलटेनिस, खो–खो, स्क्वास, आर्चरी, बक्सिङ, हकी, कुस्ती, भलिबल, एथलेटिक्स तथा कबड्डी ।
पदकविहीन खेल
सुटिङ, ह्यान्डबल, साइक्लिङ तथा टेनिस ।