नेपाल क्रिकेट संघ (क्यान) का दुईवटा कार्यसमिति अस्तित्वमा छन् । क्यानको निर्वाचित कार्यसमितिले काम गर्न सकेको छैन भने यता राष्ट्रिय खलकुद परिषद्ले गठन गरेको तदर्थ समितिले पनि काम गरेको छैन । खासमा यी दुवै कार्यसमिति ‘बेकामे’ देखिएका छन् । एकले अर्कालाई गाली गर्छन् तर दुवैले क्रिकेटको हितमा चाहिने काम गरेका छैनन् ।
ती दुवै समितिका अधिकांश पदाधिकारीले क्यान विवादमा नहुँदा पनि खासै राम्रो काम भने गरेका थिएनन् । त्यही कारणले पनि नेपाली क्रिकेट राम्रो संभावनाका बाबजुद पनि पछाडि धकेलिँदै गएको छ । ती दुवै समितिले न त क्रिकेट विकासका दीर्घकालीन योजना ल्याउन सकेका छन् न त भएका योजनालाई नै अघि बढाउन सकेका छन् । मूलपानीमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय स्तरको रंगशालासहित ६ क्षेत्रमा क्रिकेट मैदान बनाउने योजना अहिलेसम्म लथालिङ नै छ ।
क्रिकेटमा प्रवेश गरेर चर्का नाराका साथ राजनीति गर्नेहरूलाई पाठ सिकाउँदै सुदूरपश्चिममाञ्चलमा गत शनिबार धनगढी क्रिकेट लिग (डीसीएल) सम्पन्न भयो । वास्तवमा डीसीएल स्थानीय टोलहरूबीचको प्रतियोगिता हो । यसमा धनगढीका चौराहा, सन्तोषी टोल, क्याम्पस रोड र हसनपुर तथा छिमेकी नगर अत्तरिया गरी पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।
उनीहरूको टिम बनाउने विधि पनि फरक थियो जसका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) को शैली अपनाइएको थियो । सुरुमा टिम मालिक छनौट गरिएको थियो । त्यसपछि दर्ता भएका १ सय १० खेलाडीलाई लिलामी (अक्सन) मा राख्दै बोल–कबोलका आधारमा रकम तिरेर ती खेलाडीलाई अनुबन्ध गरी टिम तयार पारिएको थियो । यस्तोमा पाँच टिमले १७–१७ खेलाडी किनेका थिए । त्यसैले २२ दिने प्रतियोगितामा सहभागी भएका प्रत्येक खेलाडीले ६ हजारदेखि ४० हजार रुपैयाँसम्म प्राप्त गरे ।
‘स्थानीय खेलाडीलाई प्रतिभा देखाउने अवसर प्रदान गर्न तथा क्रिकेटमा सानो लगानीबाटै भए पनि व्यवसायिकता सुरु गर्न डीसीएलका रूपमा नेपालमा यो नौलो प्रयोग गरिएको हो,’ आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने, ‘सुरुमा त टिम मालिक खोज्न नै गाह्रो भयो । बल्लतल्ल सम्झाएर पाँच टिमका लागि स्थानीय व्यवसायीहरूलाई तयार गरियो । प्रतियोगिता सञ्चालन भएपछि विवाद बढाएर लिग बीचमै छाड्ने भन्दै धम्क्याउनेहरू पनि आए तर डीसीएल सफलतापूर्वक सम्पन्न भयो । अहिले त अर्को संस्करणमा हामीलाई पनि राख्नुपर्छ भन्दै प्रस्ताव आइरहेको छ ।’
२०५४ सालमा स्थापित सिर्जनशील युवा क्लब (सीवाईसी) ले अत्तरियाको स्वामित्व लिएको थियो । साप्ताहिक लिगका आधारमा सञ्चालित डीसीएलका सुरुका दुई संस्करणमा सीवाईसीको उपस्थिति बलियो थियो । पहिलो संस्करणमा च्याम्पियन भएको सीवाईसीलाई दोस्रोपल्ट भने फाइनलमा कैलाली बहुमुखी क्याम्पसले हराएको थियो । आईपीएल स्वरूपमा आयोजित तेस्रो संस्करणको फाइनल निक्कै रोमाञ्चक भयो जसमा सुपरओभरमा अत्तरियालाई पन्छाउँदै चौराहा च्याम्पियन भएको थियो ।
‘हाम्रो सहभागिता धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्ने अभियानलाई साथ दिन हो,’ सीवाईसीका अध्यक्ष नरबहादुर राईले भने, ‘त्यसैले जसको जित भए पनि त्यो क्रिकेटको जित हो । यसपालि डीसीएलको सफलता नै हाम्रा लागि सबैभन्दा महत्वपूर्ण पक्ष बनेको छ । अब अर्को संस्करणमा च्याम्पियन हुनका लागि हामी अहिलेदेखि नै तयारी सुरु गर्नेछौं ।’
डीसीएलका प्रत्येक टिमले ५ लाखदेखि ८ लाख रुपैयाँसम्म लगानी गरेका थिए । त्यसमध्ये २ लाख २० हजार रुपैयाँ खेलाडीको तलबमा खर्च भएको थियो । एक टिमले १५ देखि ३२ वटासम्म स्थानीय प्रायोजक पाएका थिए । त्यसैले च्याम्पियन हुने टिम नाफामा जाने देखिएको थियो । डीसीएलमा जित हासिल गर्ने कुरा टोल–टोलका लागि प्रतिष्ठाको विषय बनेको थियो । आफ्नो टिमलाई जिताउन र उत्साहित तुल्याउन टोल–टालबाट दर्शक स्थानीय सेती अन्चल प्रहरी मैदान पुगेका थिए ।
‘पहिले प्रतियोगिता खेल्दा म्याच फि मात्र पाइन्थ्यो,’ चर्चित खेलाडी महबुब आलमले भने, ‘डीसीएलमा निश्चित रकम पाइएको छ । यसले टिमले गरेको लगानीको प्रतिफल दिनुपर्ने जिम्मेवारी बोध गराउँछ । त्यसैले क्रिकेटलाई व्यवसायिक बनाउन यस्ता प्रतियोगिता देशका अरू सहरमा पनि आयोजित गर्नु आवश्यक छ ।’ डीसीएलमा विश्व क्रिकेट लिग डिभिजन फाइभअन्तर्गत सन् २००८ मा जर्सीमा भएको मोजाम्बिकविरुद्धको खेलमा १० विकेट लिएर विश्व कीर्तिमान बनाएका आलमसँगै एउटै टिममा रहेर वा प्रतिद्वन्द्वी भएर १३ वर्षसम्मका स्थानीय खेलाडीले खेल्ने अवसर पाएका थिए ।
राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, प्रेम तामाङ, धीरेन्द्र चन्द, राजु रिजाल, सुनील धमला जस्ता चर्चित क्रिकेटहरू डीसीएलमा सहभागी थिए । ‘उत्कृष्ट र अग्रज खेलाडीसँग खेल्न पाउँदा धेरै कुरा सिक्ने अवसर मिल्यो,’ स्थानीय १४ वर्षीय अफस्पिनर टेकेन्द्र बोहराले साप्ताहिकलाई बताए ।
डीसीएलको अर्को संस्करण अझ आकर्षक हुने अनुमान गरिएको छ किनभने नेपाली राष्ट्रिय टिमका अरू खेलाडी पनि डीसीएलमा सहभागी हुन लालयित छन् । छिमेकी भारत र पाकिस्तानी खेलाडीहरूलेसमेत डीसीएलमा खेल्न चासो देखाएको कुरा सार्वजनिक भएका छन् ।
क्यानले राष्ट्रिय प्रतियोगिता गर्न नसकेको लगभग दुई वर्ष भैसकेको अवस्थामा डीसीएलले घरेलु क्रिकेटलाई केही चलायमान बनाएको छ । सानै रकम भए पनि घरेलु क्रिकेटमा व्यवसायिकताको सुरुआत गरेको छ । नेपालको सबैभन्दा बढी क्रिकेट गतिविधि हुने सहर धनगढी नै हो । यहाँ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने अभियान ‘ड्रिम फाप्ला’ पनि सुरु भएको छ । त्यसैले क्रिकेट लोकप्रिय रहेको भैरहवा, वीरगन्ज, जनकपुर, काठमाडौं, विराटनगर, नेपालगन्ज आदि सहरमा पनि डीसीएल शैलीका प्रतियोगिता आयोजित गर्नु आवश्यक छ । यस्तै प्रतियोगिताले नै देशको क्रिकेट स्तर वृद्धि गर्नसक्छ ।