अल्ट्रा धाविका मीरा राई राजधानीको नारायणथान क्षेत्रका डाँडामा कडा अभ्यास गरेपछि अहिले इटाली पुगेकी छिन् । मीरा इटालीमा पनि एक महिना नयाँ सिजन (सन् २०१६) का लागि प्रशिक्षणमा व्यस्त हुर्नेछिन् । त्यसपछि उनले अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिज च्याम्पियन बन्ने अभियान सुरु गर्नेछिन् ।
गत वर्ष स्वीडेनकी एमिली फोर्सबर्गसँग पछाडि परेपछि उनी वल्र्ड सिरिज २०१५ मा उपविजेतामा रोकिएकी थिइन् । ‘यो वर्ष (२०१६) च्याम्पियन बन्ने प्रयास गर्नेछु र त्यसैका लागि मेहनत गरिरहेकी छु,’ २७ वर्षीय मीराले बताइन् । उनले यो सिजन ५ रेसमा दौडने योजना बनाएकी छिन् । त्यसमध्ये तीन रेस वल्र्ड सिरिजअन्तर्गतका हुन् र सबैमा उपाधि जित्नसके मीरा विश्वविजेता हुनेछिन् । उनको पहिलो रेस ३० अप्रिलमा बेलायतको ‘थ्री–पिक्स’ बाट प्रारम्भ हुनेछ ।
मीरा ९ चैत, २०७० मा हिमालयन आउटडोर फेस्टिबलको ५० किलोमिटर रेसमा दौडिएकी थिइन् । फूलबारी गेटदेखि हात्तीवन (मकवानपुर) सम्मको रेसमा उनी पहिलो नै भइन् । त्यही दिन दौडनुपर्ने थाहा नपाए पनि पहिलो भएपछि उनको जीवनको बाटो नै मोडियो ।
हिमालयन आउटडोरको सफलतापछि उनी उच्च पहाडी–हिमाली क्षेत्रमा हुने अल्ट्रा रेसमा एकाग्र भइन् । हिमालयन, मुस्ताङ र मनास्लुका डाँडापाखाकामा मात्र होइन मीराले इटाली र हङकङसहित लगातार ६ रेस जितिन् । स्वदेशका ६ रेसमा पहिलो भएकी मीराले विदेशमा सहभागि १४ मध्ये आठमा स्वर्ण पदक जितेकी छिन् ।
माघ, २०७१ मा हङकङमा भएको एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेकी मीराले वैशाख, २०७२ मा भएको स्काइरनर वल्र्ड सिरिजअन्तर्गत् मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा स्वर्ण पदक हातपारिन् जुन अल्ट्रा रेसमा नेपालले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो । अल्ट्रा रेसको आयोजना र प्रवद्र्धन गर्ने संस्था ट्रेल रन नेपाल तथा स्पोर्ट्स वेयर कम्पनी ‘सलोमन’को सहयोगमा दौडँदै आएकी मीरा कोर्स रेकर्डसहित मोन्ट ब्लान्कको सफलतासँगै चर्चित भएकी थिइन् । उनलाई हिमालयन आउटडोरमा सहभागी हुँदा अल्ट्रा रेस के हो भन्ने पनि थाहा थिएन ।
‘मुस्ताङमा दौडिएपछि अल्ट्रा भनेको यही हो भन्ने कुरा थाहा भयो,’ मीरा भन्छिन्, ‘यसैले मलाई चिनायो, देशको नाम राख्न सके । अब यसैमा लाग्नेछु ।’ अहिले राजनीतिबाट टाढा रहेकी पूर्व माओवादी लडाकु मीरा दौडमै एकाग्र छिन् । फिटनेसका लागि साइक्लिङ र क्लाइम्बिङ पनि गर्ने मीराले आफ्नो भविष्य पनि अल्ट्रा रेसमै देखेकी छिन् ।
नेपाली समाजलाई आमूल परिवर्तन गर्ने योजनासहित २०५२ सालमा सुरु भएको माओवादी आन्दोलन उत्कर्षमा पुग्दै थियो । त्यही बेला ६ कक्षामा अध्ययनरत मीरा माओवादीसँग नजिकिएकी थिइन् । माओवादीको पूर्णकालीन कार्यकर्ता हुँदै उनले घर छाडेकी थिइन् ।
मीराले २०१६ मा दौडने रेस
मिति | रेस | देश | दूरी |
३० अप्रिल | थ्री पिक्स | बेलायत | ३७.४ किमि |
७ मे | ट्रान्स–भुल्कानिया | स्पेन | ७५ किमि |
४ जुन | अल्ट्रा स्काइम्याराथन | पोर्चुगल | ५५ किमि |
२२ जुन | बुफ इपिक | स्पेन | १०५ किमि |
२४ सेप्टेम्बर | अल्ट्रा पिरिनेउ | स्पेन | ११० किमि |
Sponsored
‘महिलाहरू घाँस–दाउरामै सीमित थिए । त्यसैले माओवादीमा लागेर महिला र समाजका लागि केही गर्ने सपना देखेकी थिएँ,’ सानोदुम्मा, भोजपुरकी मीरा भन्छिन्, ‘अहिलेको राजनीतिक अवस्था देखेर दु:ख लाग्छ तर, दु:ख मानेर बस्नु हुँदैन । सकरात्मक सोचका साथ अघि बढ्नुपर्छ ।’ सहयोगी छापामारका रूपमा माओवादीका केही मोर्चामा सहभागी भएकी राई भन्छिन्– ‘युद्धमा पुरुष र महिलाले चलाउने हतियार एउटै हो । समाजमा त्यस्तै समानताका लागि माओवादीमा गएकी थिएँ । युद्धमा थुप्रै महिलाले योगदान दिएका थिए । अहिले समान अधिकार नदिएकोमा दुख लाग्छ ।’
२०६२–६३ को जनआन्दोलनपछि माओवादीको सिन्धुली शिविरमा पुगेकी मीरालाई नेपाली सेनामा समायोजन गर्दा संयुक्त राष्ट्रसंघीय मिसनले अयोग्य ठहर्याएको थियो । त्यसले १ दाइ, ६ भाइबहिनी र बुबाआमालाई आर्थिक सहयोग गर्ने उनले सपना टुटाइदिएको थियो, तर उनी घर फर्किनन्, सिन्धुलीमै रहेर एसएलसी उत्तीर्ण गरिन् । १८ महिने कृषि पनि पढिन् । जेटीए बनिन् । ‘खेल्न छाडेपछि आफ्नो अध्ययनलाई उपयोग गर्नेछु,’ राईले भनिन् ।
शिविरमा छँदा उनी पीएलए स्पोर्ट्स क्लबले सञ्चालन गर्ने हरेक खेलमा सहभागी भइन् । त्यस क्रममा मीराले कराते, फुटबल, भलिबल, कपर्दीदेखि लिएर एथलेटिक्ससम्म खेल्न भ्याइन् । उनी पैसा कमाउन वैदेशिक रोजगारीमा जाने सोचसहित राजधानी प्रवेश गरेकी थिइन् । मलेसियाका लागि भिसा पनि लगाइन् तर, कराँते प्रशिक्षक ध्रुवविक्रम मल्लको सल्लाहमा त्यो पासपोर्ट थन्क्याएर उपत्यकाका डाँडातिर दौडन थालिन् । अन्तत: यसैमा उनको करिअर बन्यो र अहिले उनी विश्व विजेता बन्ने अभियानमा जुटेकी छिन् ।
प्रतिक्रिया
युरोपमा फुटबल अन्योलता
वैशाख ८, २०७७
नेयमारको रंगीन दुनियाँ
वैशाख ८, २०७७
अन्योलतातिर फुटबल
वैशाख ८, २०७७
पीडाबीचअपार खुसी
वैशाख ८, २०७७