नेपाली सेनाका हवल्दार भीम गुरुङले गत वैशाख १९ गते चीनको सिचुवानमा सम्पन्न येदिङ स्काई रन च्याम्पियनसिप जितेका छन् । गुरुङले उक्त प्रतियोगिताअन्तर्गत ३ हजारदेखि ५ हजार मिटरको उचाइमा ३० किलोमिटरको दूरी ३ घण्टा ८ मिनेट ३० सेकेन्डमा पूरा गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी इटालीका तादेई पिभकले उक्त दूरी ३ घण्टा १० मिनेट १८ सेकेन्डमा पूरा गरेका थिए भने तेस्रो हुने एन्डोराका मार्क क्यासलमिरले उक्त दूरी ३ घण्टा ११ मिनेट २८ सेकेन्डमा छिचोलेका थिए । भीमले येदिङमा प्राप्त सफलतासँगै ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
अल्ट्रा रेसमा नेपालका नयाँ नायकका रूपमा देखा परेका गुरुङ गोरखाका हुन् । उनी त्यहीं हुर्किए, बढे र जागिरका लागि सेनामा भर्ती भए । नेपालको भौगोलिक अवस्थितिका कारण पनि उनलाई उकालीओराली गर्न गाह्रो लाग्दैन । उकालो–ओरालो हिँड्ने दैनिकी नै अन्तत: भीमको करियरमा परिणत भएको छ । उनले अक्टोबर, २०१५ मा खुम्बुमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन पनि जितेका थिए ।
त्यसअघि उनी हङकङमा सम्पन्न चार जनाले दौडने टिम स्पर्धाको अक्सफर्म रेसमा पनि पहिलो भएका थिए, तर त्यतिबेला उनले एकल रूपमा स्वर्ण जित्न सकेका थिएनन् । गुरुङ साहसिक मानिएका विश्वकै चर्चित रेसहरूमा सहभागी हुन थालेको केही वर्ष भैसकेको छ ।
साहिसक धावकहरूका लागि स्काइरनर वल्र्ड सिरिजअन्तर्गतका प्रतियोगिता निकै महत्वपूर्ण मानिन्छ । यसमा वर्षभरि हुने ८ रेसमा गरिएको प्रदर्शनका आधारमा विश्व च्याम्पियनको घोषणा गरिन्छ । येदिङ स्काई रन पनि त्यही सिरिजअन्तर्गतको रेस हो । यो सन् २०१६ को सिजनको पहिलो प्रतियोगिता पनि हो । सन् २०१५ को स्काई रनर वल्र्ड च्याम्पियन इटालीका तादेई पिभकले येदिङको रेस पनि जित्ने अनुमान गरिएको थियो, तर उनलाई उछिन्दै आश्चार्यजनक रूपमा भीम गुरुङले स्वर्णपदक जिते ।
गत वर्ष मीरा राईले वल्र्ड सिरिजको मोन्ट–ब्लान्क (फ्रान्स) ८० किलोमिटरको उपाधि जितेकी थिइन्, तर त्यो रेस अल्ट्रातर्फको हो । त्यसैले स्काई रनर वल्र्ड सिरिजका रेसमा स्वर्ण जित्ने भीम नै पहिलो नेपाली हुन् । यो जितले उनलाई साहसिक दौडमा मीरा राईपछि अर्को स्टार बनाएको छ ।
गत वर्षको एभरेस्ट म्याराथनको अनुभव र अन्नपूर्ण–१०० रेसको तयारी गरिरहेकाले येदिङ स्काई रनमा स्वर्ण जित्न सजिलो भएको गुरुङले बताएका छन् । प्रतियोगितापछि प्रतिक्रिया दिँदै तादेईले भनेका छन्— जति प्रयास गरे पनि ओरालोमा भीमलाई उछिन्न सकिनँ ।
चीनमा पहिलोपल्ट आयोजित स्काई रनर वल्र्ड सिरिजको यो रेससँगै नयाँ सिजन (सन् २०१६) पनि सुरु भएको छ । सिरिजको रेस जित्नेलाई १ सय अंक दिइन्छ र येदिङको सफलतासँगै भीमले स्काई रनर वल्र्ड सिरिज–२०१६ को शीर्षस्थान प्राप्त गरेका छन् । विश्व च्याम्पियनसिपका लागि धावकको चार उत्कृष्ट रेसको प्रदर्शनलाई आधार मानिन्छ । त्यसैले अरू रेसमा पनि सहभागी हुन सके गुरुङ विश्व च्याम्पियन बन्न सक्छन् । इटालीमा ३ तथा स्पेन, एन्डोरा, स्विट्जरल्यान्ड र अमेरिकामा १–१ रेसको आयोजनापछि अक्टोबरमा यो सिरिज सम्पन्न हुनेछ ।