तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन समुद्री सतहबाट ५ हजार ३ सय ६४ मिटरस्थित सगरमाथा आधार शिविरबाट प्रारम्भ हुन्छ । १४ वर्षअघि प्रारम्भ भएको यो साहसिक दौड विश्वमै चर्चित छ । सगरमाथामा पहिलो मानव पाइला परेको २९ मेका दिन तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन सम्पन्न गरिन्छ । गत वर्ष भूकम्पका कारण यो दौड अक्टोबरमा सम्पन्न गरिएको थियो । यसपटकको १४ औं संस्करण भने गत आइतबार २९ मेमै सञ्चालन गरिएको थियो ।
सगरमाथा क्षेत्रमा जुनसुकै बेला पनि हिउँ पर्छ र जमेका हिउँमाथि पाइला चाल्दै दौडनु नै एभरेस्ट म्याराथनको मुख्य विशेषता हो । त्यसैले ३ हजार ४ सय ४६ मिटरस्थित नाम्चे बजारमा टुंगिने एरभेस्ट म्याराथन जिते वा नजिते पनि त्यसमा सहभागी हुने सपना विश्वका प्राय: सबै साहसिक धावकहरूले देखेका हुन्छन् ।
यो वर्षको १४ औं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा ४ घण्टा १० सेकेन्डको समय निकाल्दै नेपाली सेनाका वेदबहादुर सुनुवार पहिलो भए । त्यसैगरी गत वर्षका विजेता नेपाली सेनाका भीमबहादुर गुरुङ ४ घण्टा ३ मिनेट १४ सेकेन्डको समयका साथ दोस्रो भए भने सुमन कुलुङ ४ घण्टा ११ मिनेट ५२ सेकेन्डसहित तेस्रो स्थानमा रहे । त्यसैगरी ६० किलोमिटरको एक्स्टि्रम अल्ट्रातर्फ नेपाली सेनाका तीर्थबहादुर तामाङ ६ घण्टा ३६ मिनेट १३ सेकेन्डसहित पहिलो भए । महिलातर्फ पूर्णिमाया राई (५ घण्टा २४ सेकेन्ड) पहिलो, निरकला कुलुङ (५ घण्टा ३८ मिनेट १ सेकेन्ड) दोस्रो र पासाङ डोल्मा शेर्पा (६ घण्टा ३१ मिनेट ३९ सेकेन्ड) तेस्रो भए । यो वर्ष एभरेस्ट म्याराथनको महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा १ सय ३४ विदेशी र ३७ नेपालीसहित कुल १ सय ७१ जना सहभागी थिए ।
गोसाइँकुण्डमा पनि
हुन त सन् १९८० को दशकबाटै नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा साहसिक दौड सुरु भएको थियो । यसलाई एभरेस्ट म्याराथनले थप चर्चित बनायो । त्यसपछि अन्नपूर्ण र मुस्ताङमा पनि यस्तो दौड सुरु भएको छ । यसैपालिदेखि तीर्थस्थल एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा पनि ट्रेल/अल्ट्रा दौड प्रारम्भ गरिएको छ ।
गत वर्षको भूकम्पका कारण पदयात्राका लागि प्रख्यात यो क्षेत्र सुनसान भएको थियो । त्यसैले यहाँको पर्यटकीय आकर्षणलाई ब्युँताउन गत आइतबार लाङटाङ–गोसाइँकुण्ड हाफ म्याराथन सञ्चालन गरियो । उक्त म्याराथनको आयोजना ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो वार्षिकोत्सवको अवसर पारेर गरेको थियो । सफल आयोजनापछि टानले यो प्रतिस्पर्धालाई बर्सेनि सञ्चालन गर्ने जनाएको छ ।
समुद्री सतहबाट ४ हजार ३ सय ८० किलोमिटर उचाइमा रहेको गोसाइँकुण्डबाट प्रारम्भ भएको दौड १ हजार ९ सय ६० मिटरस्थित धुन्चेमा पुगेर टुंगिएको थियो । यसमा २३ महिला तथा ५ विदेशीसहित १ सय ३ जना सहभागी थिए । पहिलो संस्करणमा नेपाली सेनाका भरत खत्री पहिलो भए । नेपाली सेनाकै धावक होमलाल श्रेष्ठलाई मात्र ४० सकेन्डले पछाडि पार्दै भरत पहिलो भएका हुन् । धुन्चेस्थित नारायणदल गुल्ममा कार्यरत भरतले २१ दशमलव १ किलोमिटरको दूरीलाई १ घण्टा
२२ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए ।
रामेछापका २८ वर्षीय भरत पहिलोपल्ट यस्तो साहसिक दौडमा सहभागी भएका हुन् । यसअघि उनी ५ हजार र १० हजार मिटर दूरीका धावक थिए, तर कहिल्यै पहिलो भएका थिएनन् । ‘बाटो अप्ठेरो थियो । त्यसमा हिउँ परेपछि चिप्लो भयो । उकाली–ओराली र चिप्लो बाटोमा दौडिनु गाह्रो त हुन्छ नै तर रोमाञ्चक पनि हुँदो रहेछ । मौका मिल्यो भने अझ दौडिनेछु,’ भरतले बताए ।
लहरेपौवा–८, गुम्बुडाँडा, रसुवाकी फूलमाया स्याङ्बा त कुनै पनि दौडमा सहभागी भएको यो नै पहिलो अवसर हो । ११ कक्षामा अध्ययनरत फूलमाया लाङटाङ–गोसाइँकुण्ड हाफ म्याराथनमा महिलातर्फ पहिलो भइन् । उनले २ घण्टा ७ मिनेट २६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।
‘मलाई दौड जित्छु नै भन्ने लागेको थिएन, तर उकाली–ओराली गरिरहने भएकीले सजिलो भयो । अवसर पाएँ भने अब दौडलाई निरन्तरता दिनेछु,’ २१ वर्षीया फूलमायाले बताइन् ।