अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अझै अन्तर्राष्ट्रिय फुटबलमा पहिलो उपाधि जित्ने अभियानमा छन् । क्लब फुटबलमा सबै किसिमका उपलब्धि हात पारिसकेका मेसी यसपटकको कोपा अमेरिकालाई निकै कठिन मान्छन् । कोपा अमेरिका विश्वकप फुटबलभन्दा पनि पुरानो हो । यो प्रतियोगिता सन् १९१६ मा सुरु भएको थियो । त्यसैले यसपटक दक्षिण अमेरिकी महादेशीय च्याम्पियनसिपले १ सय पूरा गरेको अवसरमा शतवार्षिकी संस्करण आयोजित गरिएको हो । यो प्रतियोगिता गत शुक्रबारदेखि अमेरिकामा सुरु भैसकेको छ । यस पटकको कोपा अमेरिकामा उत्तर तथा मध्यअमेरिकी क्षेत्रका ६ एवं दक्षिण अमेरिकाका १० गरी १६ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।
कोपा उपाधि होडतर्फ बढ्दा युरोमा नकआउट चरणको प्रतिस्पर्धा सुरु हुनेछ । आयोजक फ्रान्सलाई युरोमा सबभन्दा बलियो मानिएको छ तर, उसलाई तेस्रोपल्ट उपाधि जित्न सजिलो भने छैन । १९८४ र १९९८ मात्र आयोजक टिमले उपाधि जितेको इतिहास छ । लोभलाग्दो खेल पस्कने स्पेन पछिल्ला दुई संस्करणको युरो च्याम्पियन हो । विश्वकप विजेता जर्मनी र स्पेनले युरो सर्बाधिक ३–३ पल्ट जितेका छन् । फिफा वरीयताको शीर्षस्थानमा बेल्जियम छ । बेल्जियन टिममा पनि उत्कृष्ट खेलाडीहरूको बाक्लै उपस्थिति छ । त्यसैले फ्रान्सपछि स्पेन, जर्मनी र बेल्जियमलाई बलियो मानिएको छ । त्यसपछि इंग्ल्यान्ड, इटाली र पोर्चुगल छन् । कोपामा भने जसले जसलाई पनि हराउनसक्छ, जुन इतिहासले पनि देखाउँछ । विश्वकपमा इटालियन डिफेन्डिर जर्जियो चेलिनीलाई टोकेपछि उरुग्वेका लुईस स्वारेजका लागि ठूलो प्रतियोगितामा पुनरागमन कोपा अमेरिका नै हो ।
अर्जेन्टिनी प्लेमेकर लियोनल मेसी पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा छन्, तर स्वारेज र मेसी पहिलो खेलमा भने मैदानमा ओर्लिएनन् । अर्तुरो भिदाल र एलेक्सिस सान्चेज चिलीको उपाधि जोगाउन लागेका छन् । बार्सिलोनाको शर्तपछि नेयमारलाई ओलम्पिकका लागि सुरक्षित राखिएपछि ब्राजिललाई भने यसपटक बलियो मानिएको छैन ।