चुरियामाई, मकवानपुरका जितबहादुर मोक्तानले आर्चरीतर्फ ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली बन्ने अवसर प्राप्त गरे छन् । वाइल्ड कार्डमार्फत् ओलम्पिकमा अवसर पाएका मोक्तानले इन्डिभिज्युअल रिकर्भमा प्रतिस्पर्धा गर्नेछन् । ३६ वर्षीय मोक्तानले प्रारम्भिक चरणमा आज शुक्रबार नै खेल्दैछन् ।
रियो ओलम्पिकमा कसरी छनौट हुनुभयो ?
नोभेम्बर, २०१५ मा बैंककमा भएको एसियन च्याम्पियनसिप (ओलम्पिक छनौटका रूपमा पनि रहेको) मा ६ सय ४२ स्कोर बनाएको थिएँ । ओलम्पिकमा वाइल्ड कार्ड प्राप्त गर्न कम्तीमा ६ सय ३० स्कोर बनाउनुपर्छ । बैंककमा राम्रो खेलेकैले ओलम्पिकमा अवसर मिलेको हो ।
आर्चरीमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुन पाउँदा कस्तो लागेको छ ?
खुसी त लाग्छ नै । आर्चरी खेल्न थालेदेखि नै ओलम्पिक खेल्छु भन्ने सपना बनाएको थिएँ, अब पूरा हुन लागेको छ । खेलाडीका लागि सबैभन्दा ठूलो प्रतियोगिता भनेकै ओलिम्पक हो ।
रियोमा तपाईंको लक्ष्य के छ ?
इन्डिभिज्युअल रिकर्भमा ६ सय ४२ मेरो सबभन्दा राम्रो स्कोर हो र यसमा अझै सुधार गर्ने प्रयास गर्नेछु ।
तयारी कस्तो रह्यो ?
ओलम्पिकका लागि तयारी राम्रो गर्नुपर्ने हो तर भएन । पोखरामा दुई साता प्रशिक्षण गरे पनि काठमाडौंमा अभ्यास गर्ने ठाउँ नहुँदा समस्या भयो ।
आर्चरी खेल्न थाल्नुभएको कति भयो ?
१२–१३ वर्षको छँदा गाउँबाट काठमाडौं आएको थिएँ । त्यसको केही पछि नै मनाङ समाजको भेलामा गएर आर्चरी खेल्न थालें । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने पहिलोपल्ट सन् २००९ मा अवसर पाएको थिएँ । टिम स्पर्धामा हामीले ११ औं दक्षिण एसियाली खेलकुदमा कांस्यपदक पनि जितेका थियौं ।