बुटवलका विजेन्द्रमान श्रेष्ठ शारीरिक सुगठनका देशकै चर्चित खेलाडी हुन् । चौथो बुटवलश्री, पश्चिमाञ्चल बडी बिल्डिङलगायत राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधिसमेत जितेका विजेन्द्रमान भन्छन्— अहिले शारीरिक सुगठन मेरो जीवनको अभिन्न अंग बनेको छ । म यसकै खेलाडी, प्रशिक्षक तथा व्यवसायीसमेत भएको छु । आफूलाई नाम, दाम र काम सबै शारीरिक सुगठनले दिएको बुटवल फिटनेस सेन्टरका सञ्चालक श्रेष्ठ बताउँछन् । पेट लाग्न नदिन र फेसनेबल पहिरन लगाउन धेरै युवा जिमतर्फ आकर्षित भएको श्रेष्ठको तर्क छ । नियमित साधना, अनुशासन र नआत्तिने बानी भए शारीरिक सुगठनको अभ्यासबाट सफलता हासिल हुन्छ, श्रेष्ठ भन्छन्— त्यसका लागि कम्तीमा पनि ६ देखि ८ महिनासम्म निरन्तर अभ्यास गर्नुपर्छ ।
बुटवलका चन्द्रमान श्रेष्ठ पनि शारीरिक सुगठनका राम्रा खेलाडी हुन् । साना–ठूला गरी एक दर्जन प्रतियोगिता जितेका श्रेष्ठले अहिले आफ्नै जिम सेन्टर खोलेका छन् । जिम सेन्टरमै व्यस्त रहने चन्द्रमानले दैनिक १ सयभन्दा बढीलाई शारीरिक सुगठनको अभ्यास गराउँछन् । स्वस्थ शरीर एवं समाज निर्माणका लागि आफूले जिम सेन्टर खोलेको श्रेष्ठको दाबी छ । शारीरिक अभ्यासको काम नहुने, जङ्क र अल्कोहलजन्य फुड बढी खाने कारणले अहिलेको युवापुस्ता अस्वस्थ बन्दै छ । चन्द्रमान भन्छन्— यस्तो बेला स्वस्थ शरीर र सुन्दर समाज बनाउने राम्रो उपाय शारीरिक सुगठन नै हो ।
जिम गर्ने अर्थात् शरीर सुगठित राख्न चाहने युवाहरूको संख्या बढ्दै जाँदा बुटवलमा व्यवसायिक जिम केन्द्र पनि बढेका छन् । बुटवल र आसपासमा मात्र शारीरिक सुगठनको अभ्यास गराउने ११ वटा व्यवसायिक जिम सेन्टर सञ्चालनमा छन्, जसमा दैनिक ४ सयभन्दा बढीले अभ्यास गर्छन् । रुपन्देहीमा मात्र अहिले करिब तीन दर्जन जिम सेन्टर सञ्चालनमा छन् । जसमा दैनिक १ हजारभन्दा बढीले अभ्यास गर्छन् । शारीरिक अभ्यास नभएर होला, जतिबेला पनि सरीर असजिलो हुने, आलस्य हुने तथा सानो रोगले पनि आक्रमण गरिहाल्थ्यो । एक वर्षयता जिम सेन्टर धाउन थालेका बुटवलका धीरज न्यौपाने भन्छन्– अहिले त्यस्तो हुँदैन । स्वस्थ र फुर्तिलो दुवै भएको छु ।
केही समयअघिसम्म पुरुषको मात्र वर्चस्व रहेको शारीरिक सुगठनमा अहिले महिलाहरूको पनि आकर्षण देखिन्छ । शरीर आकर्षक, फुर्तिलो र स्वस्थ राख्न बाहिरी सौन्दर्यभन्दा भित्री सौन्दर्य आवश्यक रहेकाले जिम सेन्टर जान थालेको उनीहरू बताउँछन् । शारीरिक सुगठन अभ्यासकर्ता कोमल कसौधन दिनभर घरमा काम गर्ने तथा शारीरिक अभ्यासको काम नगर्ने महिलाका लागि जिम बढी फाइदाजनक भएको बताउँछिन् । डाइटिङ र मेकअपले मात्र आकर्षक नभइँदो रै’छ, कसौधन भन्छिन्— शरीरलाई आकर्षक, सन्तुलित र स्वस्थ राख्न शारीरिक व्यायाम नै आवश्यक हुँदो रहेछ ।
रुपन्देहीका शारीरिक सुगठन केन्द्रहरूमा शारीरिक सुगठनका साथै एरोविक, नृत्य आदि पनि गराइन्छ । यस्ता फिटनेस सेन्टरहरूमा उद्योगपति, व्यापारी, शिक्षक, विद्यार्थी आदिको विशेष आकर्षण देखिन्छ । बुटवलमा जिम संस्कारको सुरुवात युवाहरूलाई कुलतबाट जोगाउने उद्देश्यले खोलिएको व्यायामशालाबाट भएको हो । आधुनिक सुविधासहित सञ्चालनमा आएका नयाँ होटलहरूमा पनि फिटनेस सेन्टर राख्ने चलन छ । अहिले रुपन्देही जिम तथा फिटनेस संघले वार्षिक रूपमा प्रतियोगिता समेत सञ्चालन गर्छ, जसअन्तर्गत दुई वर्षको अन्तरमा बुटवलश्री प्रतियोगिता हुन्छ । विभिन्न क्लबले पनि प्रतियोगिता आयोजना गरिरहने भएकाले शारीरिक सुगठन शरीर आकर्षक बनाउने साधन मात्र नभएर खेल प्रतियोगिताकै रूपमा अघि बढेको पाइन्छ ।