यसअघि तीन पटक ताप्लेजुङ टिम रौतहटसँग पराजित भएको थियो । दुईपल्ट रौतहटकै मैदान र एकपल्ट सिन्धुपाल्चोकमा हारेको बदला ताप्लेजुङले तानसेनस्थित टुँडिखेल मैदानमा लिएको छ ।
राष्ट्रिय एन्फा महिला लिगको उपाधि चुमेर ताप्लेजुङले विगतको हारको बदला लिन सफल भएको हो । उसले फाइनलमा २–० गोल अन्तरले रौतहटलाई पराजित गर्न सफल भएको हो । ताप्लेजुङको जितकालागि भुजंगा राईले २३ औं र ५५ औं मिनेटमा गोल गरिन् । उनको गोल नै निर्णायक भयो ।
महिला लिग विजेता ताप्लेजुङ्ले ३ लाख नगद पायो भने उपविजेता रौतहटले डेढ लाखमै चित्त बुझायो । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, जिल्ला अध्यक्ष भिमसेन कार्की लगायतले विजेता र उपविजेतालाई नगद पुरस्कार, ट्रफी र शिल्डे प्रदान गरे ।
एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनल रोचक भयो । सुरुदेखि ताप्लेजुङले रौतहटलाई दबावमा पारेपनि खेलको अन्तिमसम्म रोमाञ्चक बनेको थियो । ताप्लेजुङका प्रशिक्षक देवकुमार लिम्बुले रौतहटलाई जित्ने रणनीतिक अनुसार नै सफल भएको बताए । ‘हामीले जे सोचेका थियौं त्यही भयो,’ उनले भने, ‘सुरुमा गोल हानेपछि जितिन्छ भन्नेमा ढुक्क जस्तै थिए ।’
रौतहट महिला टिम फुटबलमा बलियो मानिन्छ । यसपटक ताप्लेजुङले तीन राष्ट्रिय खेलाडीसहित एक जना नयाँ खेलाडी टिममा राखेको थियो । गोलकिपर लीला लामगादे, अनिता बस्नेत, गीता मगर राष्ट्रिय खेलाडी हुन् । भुजंगा राई उदीयमान खेलाडी हुन् । रौतहटसँग अञ्जना रानामगर, अञ्जली योञ्जन जस्ता राष्ट्रिय टिमकै खेलाडी थिए । गोलकिपर अञ्जनाले दुई साताअघि मलेशियामा मैत्रीपूर्ण म्याच खेलेकी थिइन् । लिगमा ताप्लेजुङले ६ खेलमा २८ गोल हानेको छ । यस्तै रौतहटले ३७ गोल गरेको छ । दुबै टिमका खेलाडी फाइनलमा उत्साहित थिए । २८ जिल्लाको सहभागी राष्ट्रिय महिला लिग च्याम्पियन स्याङ्जा र पाल्पामा १४–१४ जिल्लाको भएको थियो । विधागत उत्कृष्ट गोलकिपर ताप्लेजुङ्की लीला लामगादे, डिफेन्डर ताप्लेजुङ्कै गीता मगर, मिडफिल्डर पनि ताप्लेजुङ्कै अनिता बस्नेत, फरवार्ड रौतहटकी रश्मी घिसिङ् र प्रशिक्षक ताप्लेजुङकै देवकुमार लिम्बुलाई जनही १५ हजार नगद पुरस्कार दिइयो ।