मधेसको शान र संस्कृति मानिने कुस्तीको क्रेज बढ्दो छ । पश्चिम तराईका कपिलवस्तु, रूपन्देही तथा नवलपरासीमा परम्परागत खेल कुस्ती विशेष लोकप्रिय मानिन्छ ।
गएको पुसको पहिलो साता रूपन्देहीको छोटकी रामनगर, मझौलीमा सम्पन्न अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगितामा नेपाल र भारतका १ सय ७० कुस्तीवाज भिडेका थिए भने मंसिर २४ देखि २६ गतेसम्म कपिलवस्तुको जितपुरमा सञ्चालित खुला दंगलमा ३० भन्दा बढी पहलवान मैदानमा थिए । गत माघ १६ देखि १८ गतेसम्म नवलपरासीमा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका २ सय २० कुस्तीवाज मैदानमा थिए । यो क्षेत्रमा कुस्ती हेर्न स्थानीय दर्शक बाहेक भारतबाट समेत दसौं हजार दर्शक ओइरिन्छन् ।
विशेषगरी चाडपर्व र मेला–महोत्सवका बेला नवलपरासी, कपिलवस्तु तथा रुपन्देहीका ग्रामिण क्षेत्रहरूमा कुस्ती प्रतियोगिताको आयोजना हुँदै आएको छ । हालसालै आयोजना भएको बुटवल, भैरहवा एवं कपिलवस्तुका महोत्सवमा पनि कुस्ती प्रतियोगितालाई विशेष महत्व दिइएको थियो ।
तस्बिर : मनोज पौडेल