गोल किपर किरण चेम्जोङ चम्किँदा झापाको दमकमा सम्पन्न दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले चुमेको छ । पुलिसले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्यो । उपाधिसँगै पुलिसले नगद १३ लाख ११ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो भने उपविजेता मनाङले ६ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।
पुलिसका रेजिन सुब्बाले गरेको एकमात्र गोल खेलको निर्णायक गोल सावित भयो । फाइनलमा पुलिसका अभिषेक रिजाल म्यान अफ द म्याच घोषित भए भने उत्कृष्ट डिफेन्डरमा पुलिसका सन्तोष हेमरम, उत्कृष्ट मिडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फवार्डमा पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्तामा ३–३ गोल गरेका आर्मीका नवयुग श्रेष्ठ तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपीएफका हरि कार्की पुरस्कृत भए ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित भए । किरणले मोटरसाईकल प्राप्त गरे । किरणले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसलाई सिजनको पहिलो उपाधि दिलाए । वैशाख १९ गते प्रारम्भ भएको यो प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता थियो ।