अघिल्लो वर्षको जेठमा राष्ट्रिय महिला लिग फुटबल तानसेन टुँडिखेलमा खेलाइयो । फाइनलमा सहभागी रौतहटको महिला टोलीले खेल मैदान प्रति गुनासो गरे । तानसेनजस्तो ठाउँमा फुटबलका लागि मैदान राम्रो भएन, फाइनल भिड्नुअघि रौतहटबाट सहभागी अन्जना रानामगरले प्रतिक्रिया दिएकी थिइन्— यति ठूलो सहरमा पनि पूर्वाधार रहेनछ ।
तानसेनको एकमात्र खेलमैदान टुँडिखेल अन्यत्रको भन्दा केही सहज छ, तर यो मैदान पनि मापदण्डअनुरूप छैन । वर्षायाममा हिलाम्मे हुने उक्त मैदान हिउँदमा धुलाम्मे हुन्छ । गत वर्ष त्यहाँ दूबो त रोपियो, तर मैदानको अवस्था उस्तै छ ।
उक्त मैदान हरेक पटक फुटबल प्रतियोगिता हुँदा मर्मत गर्नुपर्ने हुन्छ । तानसेनमा मात्र होइन, पाल्पाका ग्रामीण भेगका खेलमैदानको पूर्वाधार र संरचना दुवै कमजोर छन् । मदनपोखराको दमकडामा गएको दसैं र तिहारको अवसरमा फुटबल र क्रिकेट दुवै भयो । साताभर फुटबल र क्रिकेट स्पर्धा भएको थियो, तर मैदानको अवस्था भने गतिलो थिएन । मैदानको अवस्था राम्रो नभएपनि दु:ख–सुख प्रतियोगिता सञ्चालन गरियो, आयोजक क्लबका संयोजक अच्युत पाण्डे भन्छन्— गाउँमा प्रतियोगिता सञ्चालन गर्नुपर्छ । क्रिकेट अन्तरप्रदेशस्तरीय थियो भने फुटबल खुल्ला प्रतियोगिता थियो । एउटै मैदानमा ती दुवै खेल धुलो, ढुंगा जे भए पनि सम्पन्न भयो ।
तानसेन टुँडिखेलको अवस्था निकै कमजोर छ । हेर्दा नै ओरालो देखिने मैदानलाई सम्याउनु आवश्यक भएको स्थानीय राजेशकुमार अर्यालले बताए । एक मिटर जति खारेर सम्याएर दुबो रोप्ने हो भने मैदान सहज हुन्छ । यही मैदानमा एक दशकयता फुटबल प्रतियोगिताहरू भैरहेका छन् । यस्ता प्रतियोगिता रामपुर, निस्दी, पूर्वखोला, रैनादेवी छहरा आदि स्थानमा समेत हुने गरेको छ । खेलको भौतिक पूर्वाधारका लागि सरकारी र निजी क्षेत्र कसैले पनि सहयोग गरेको छैन । खेल आयोजना हुने बेला खेलाडी र आयोजकले मैदान आफैं मर्मत गर्नुपर्ने बाध्यता छ । तानसेनका खेलाडी अच्युत खनालले खेलाडीको सहयोगमा मर्मत गरेर प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए ।
जिल्लामा फुटबल हुन्छ भने गाउँमा भलिबल बढी हुन्छन् । भलिबल प्रतियोगिता सञ्चालनका लागि पनि पाल्पामा गतिलो पूर्वाधार छैन । जहाँ भलिबल प्रतियोगिता आयोजना गरिन्छ । त्यसका लागि ठूलै जोगाड गर्नुपर्छ । जिल्लामा भलिबल यति धेरै लोकप्रिय छ कि कुनै–कुनै प्रतियोगितामा ४६ टिमसम्म सहभागी हुन्छन् ।
मैदान निर्माण तथा मर्मतका लागि सरकारी पक्षबाट बजेट विनियोजन हुन नसकेको आयोजकहरूको गुनासो छ । तानसेनसहित पाल्पाका कतिपय ग्रामीण भेगमा फुटबल खेल्न मिल्ने मैदान छन् । रामपुर नगरपालिका, कालीगण्डकी बेसी, दमकडा, सराई, रुप्से, झडेवा, अर्गली आदि स्थानमा फुटबलकै लागि पूर्वाधार बनाउन सकिने मैदान छन् । गत वर्ष युवा तथा खेलकुद मन्त्रालयले पाल्पाका खेलकुद मैदानको स्तरोन्नतिका लागि ३ करोड ४८ लाख रुपैयाँ स्वीकृत गरे पनि खर्च हुन नसकेर ९२ लाख ३५ हजार रुपैयाँ फिर्ता भएको थियो ।