साप्ताहिक संवाददाता
नेपाली फुटबलले धेरै अपेक्षा गरेका खेलाडी हुन्— विमल घर्तीमगर । उनी अब्बल दर्जाका खेलाडी हुन्, त्यसमा कुनै शंका छैन, तर उनी आफूलाई त्यसै अनुसार प्रमाणित गर्न भने प्रायः असफल भैरहेका छन् । विमलसँग संगत गरेकाहरूको कुरा सुन्ने हो भने विमल कहिलेकाहीं फुटबल प्रति त्यति गम्भीर हुँदैनन्, जति हुनुपर्ने हो ।
उनको प्रदर्शनमा पनि निकै उतारचढाव पाइन्छ । त्यसैले विमललाई मन पराउनेहरू पनि उनको व्यवहारका कारण दुःखी हुन्छन् । सायद आफ्ना सबै आलोचकलाई उत्तर दिने अवसर पाएका छन्, विमलले । उनी हालसालै माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्टस क्लबसँग अनुबन्धित भएका छन् ।
यो त्यही क्लब हो, जसबाट नेपाली गोलरक्षक किरण चेम्जोङ खेल्छन् अनि यो क्लब माल्दिभ्सको लिगको डिफेन्डिङ च्याम्पियन पनि हो । भारतको मोहन बगानबाट पनि खेलिसकेका विमलसामु वास्तवमै एउटा अर्को मौका आएको छ, आफूलाई सिद्ध गर्ने । विमल पक्कै यसमा चुक्नेछैनन् ।