साप्ताहिक संवाददाता
एउटा स्थापित तथ्यले फेरि दोहोर्याएर के सिद्ध गरेको छ भने नेपालमा भलिबल निकै लोकप्रिय छ । यसको लोकप्रियता फुटबल र क्रिकेटकै छेउछाउमा छ । भलिबल नेपालमा फुटबल र क्रिकेटपछि त्यस्तो खेल हो जसलाई बजारीकरण गरेर आम्दानी गर्न सकिन्छ । अझ भनौं, नेपालमा पैसा तिरेर भलिबल प्रतिस्पर्धा हेर्ने जमात ठूलै छ । त्यसैले यो खेललाई राम्रोसँग चलाउने हो भने सरकारको मुख ताक्नु पर्दैन ।
नेपालमा भलिबलको लामो इतिहास पनि छ । यो इतिहासले पनि भन्छ, नेपालमा जताततै भलिबल खेलिन्छ । भलिबल खेल्न धेरै ठूलो खर्च पनि चाहिँदैन, जता पनि खेल्न सकिन्छ । खालि चाहिन्छ त यो खेलप्रतिको माया र रुचिमात्र । यो सबै प्रसङ्ग किन भन्दा नेपालले भर्खरै पाँचौं संस्करणको एभीसी सेन्ट्रल जोन पुरुष सिनियर भलिबलको आयोजना गर्यो । यो नेपालमा आयोजित भलिबलको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता थियो ।
यस्तोमा नेपालका लागि यो नयाँ र फरक अनुभव रह्यो । प्रतियोगिताकै क्रममा दर्शकको उल्लेखनीय उपस्थितिले नै देखाएको हो, नेपालमा भलिबल वास्तवमै लोकप्रिय छ, तर यो लोकप्रियतालाई सुहाउँदो टिम हामीसँग छैन, अनि व्यवस्थापन पनि छैन । प्रतियोगितामा नेपाली टिमको प्रदर्शन कमजोर रह्यो नै, त्यो भन्दा ठूलो व्यवस्थापन पनि उत्तिकै खराब रह्यो । यस्तोमा प्रतियोगिताको आयोजना मात्र सबैभन्दा ठूलो सफलता रह्यो ।
यसले के देखायो भने नेपाली भलिबल कहाँ छ ? यही प्रतियोगिताकै क्रममा के पनि प्रमाणित भएको छ भने नेपाली भलिबलले तय गर्नु पर्ने यात्रा अझ धेरै लामो छ र यो उत्तिकै कठिन पनि हुनेछ । प्रतियोगिताको विजेता रह्यो— किर्गिस्तान, उसले उपाधिको भिडन्तमा उज्वेकिस्तानलाई हरायो । यी दुई छिमेकी देश वास्तवमै निकै बलिया देखिए, एसियाको सेन्ट्रल जोनमा । विशेषतः प्रतियोगितामा विजयी किर्गिस्तान आफ्नो प्रभुत्व जमाउन सफल भयो ।
कमजोर तयारी
प्रतियोगितामा नेपालको प्रदर्शन किन कमजोर रह्यो ? यसको पहिलो उत्तर हो, नेपालले प्रतियोगिताका लागि भनेर राम्रो तयारी गर्न सकेन, अझ भनौं, तयारीका लागि पर्याप्त समय नै खर्चिन सकेन । कप्तान इम रानाले पनि स्पष्ट शब्दमै भनेका छन्, टिमको कमजोर प्रदर्शनको मुख्य कारण कमजोर तयारी नै हो । निकै कम समयको तयारीले केही पनि हुँदैन भन्ने तथ्य फेरि एकपटक यही प्रतियोगिताकै क्रममा प्रमाणित भएको छ ।
प्रतियोगिताकै लागि भनेर नेपाल भलिबल संघले विदेशी प्रशिक्षकका रूपमा हान एबिङलाई ल्याएको थियो । उनले पनि छोटो समयमा टिममा कुनै नाटकीय सुधार ल्याउन सकेनन् । प्रतियोगितामा जुन–जुन खेलाडीले नेपालका लागि राम्रो गर्नेछन् भनेर विश्वास गरिएको थियो, उनीहरू सबै यो परीक्षामा असफल रहे । प्रतियोगिता नेपाली सेनाको लखनखेलस्थित कभर्ड हलमा भएको थियो र नेपालले घरेलु मैदानको पटक्कै फाइदा लिन सकेन् ।
नेपालको पहिलो खेल किर्गिस्तानविरुद्ध नै थियो र त्यसमा नेपाल सोझो सेटमै पराजित भयो । नेपालको दोस्रो खेल माल्दिभ्सविरुद्ध थियो र कम्तीमा नेपालले त्यसमा राम्रो गर्ने अपेक्षा थियो, तर त्यो पनि देखिएन् । माल्दिभ्सले प्रतियोगिताकै लागि भनेर छ महिनाअघि तयारी सुरु गरेको थियो र त्यसमै टिकेर नेपाललाई हरायो । उक्त हारपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको थियो । त्यही हारका कारण नेपाल पाँचौं स्थानका लागि अफगानिस्तानविरुद्ध खेल्न बाध्य भयो ।
अफगानिस्तानविरुद्ध भने नेपालले सान्त्वना जित निकाल्यो । प्रतियोगिताको अन्त्यमा धेरैको आरोप के रह्यो भने नेपाली टिमको कमजोर प्रदर्शनको पछाडि भलिबल संघ नै बढी जिम्मेवार छ । संघले प्रतियोगिता आयोजना नेपालमै हुने तय भैसकेपछि पनि टिमको तयारीमा ध्यान दिन सकेन् । प्रतियोगिताकै क्रममा पनि व्यवस्थापनमा एकपछि अर्को कमजोरी देखिए । यस्तोमा संघले पनि पाठ सिक्नुपर्ने प्रस्टै देखियो ।