तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करणमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा गत वर्षका ४ सहित ६ नयाँ टिमले अक्सनमार्फत खेलाडी छनौट गरेका छन् । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा कात्तिकमा हुने प्रतियोगिताको अक्सनसँगै टिमहरूको तयारीसमेत सुरु भएको छ । प्रतियोगिताका पुराना ४ टिमले एक–एक जना रिटेन खेलाडी राख्न पाउने प्रावधान छ ।
यो प्रतियोगिताका लागि नयाँ टिम सियारी राईनोजले खेलाडी किन्न अक्सनमा सर्वाधिक रकम खर्च गरेको छ । सियारीले १ लाख ६७ हजार रुपैयाँ खेलाडीमा खर्च गरेको छ । गत वर्ष उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको लुम्बिनी शाक्य ग्लाडियटर्सले अक्सनमा सबैभन्दा कम रकम खर्च गरेको छ । उसले १ लाख २१ हजार रुपैयाँ खर्च गरेको छ ।
अक्सनमा २ सय ४० खेलाडीमध्येबाट १ सय ३० जना खेलाडी १० टिमका लागि छनौट गरिएका छन् । यो वर्षकी मिस तिलोत्तमा–२०७५ रितु भण्डारीलाई प्रतियोगिताको ब्रान्ड एम्बेसडर बनाइएको छ । यो प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप विजेता हुने टिमले २ लाख प्राप्त गर्नेछ ।
यसैगरी म्यान अफ दी सिरिजलाई नगद २० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलरलाई नगद १० हजार शिल्ड, इमर्जिङ प्लेयरलाई नगद ५ हजार तथा हरेक प्रतियोगितामा भ्यालुयवर प्लेयर र ५० रन बनाउने खेलाडीलाई नगद १ हजारबाट पुरस्कृत गरिने कुरा बताइएको छ । यसैगरी एक टिमलाई फेयर प्ले एवार्ड अन्तर्गत नगद ४० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई नगद १ हजार ५ सयबाट पुरस्कृत गरिनेछ ।