साप्ताहिक संवाददाता
आश्विन १४, २०७६
यसपालीको यू १८ साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन राम्रो रहन नसके पनि धेरैको नजरमा पर्न सफल खेलाडी हुन्— मनिष डाँगी । उनको गोलको मद्दतले नेपालले माल्दिभ्सविरुद्ध १–१ को बराबरी खेलेको थियो । यसै क्रममा नेपालको जर्सी लगाउने उनको एउटा सपना पूरा भएको छ । अबको उनको सपना हो— नेपालको राष्ट्रिय टिमबाट खेल्ने ।
डाँगी सहिद स्मारक लिग सी डिभिजन खेलेपछि चर्चामा आएका थिए । खासमा उनले दक्षिण कोरियामा फुटबल सिकेका हुन् । उनी सिन्हङ एकेडेमीका खेलाडी हुन् । परिवारको कोरिया बसाइसँगै उनी पनि त्यहाँ पुगे । उनी फेरि एकेडेमीमा फर्कनेछन् । विश्वास गर्न सकिन्छ, नेपालले कोरियामा फुटबल सिकेका एउटा राम्रो खेलाडी पाउँदैछ ।