साप्ताहिक संवाददाता
कार्तिक १५, २०७६
टेस्ट नखेल्ने देशका खेलाडीमध्ये उत्कृष्टमा खेलाडी मानिन्छ— मोहम्मद नाभेद । शक्तिशाली प्रहारका लागि चिनिने नाभेद युनाइटेड अरब इमिरेट्सले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो खेलाडी हुन् भन्नेमा कुनै विवाद छैन । उनको नेपाली क्रिकेटसँग पनि बलियो सम्बन्ध छ किनभने उनी नेपालमा हुने फ्रेन्चाइज क्रिकेटका नियमित पाहुना खेलाडी हुन् ।
उनले नेपालमा पनि सम्झनालायक केही इनिङ्स खेलेका छन् । यिनै नाभेदले अब कहिल्यै क्रिकेट खेल्न पाउने छैनन् । कम्तीमा उनी दोहोर्याएर नेपाल आउने छैनन् । यो सबै किनभन्दा उनी म्याच फिक्सिङमा फसेका छन् र उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अनिश्चित कालका लागि प्रतिबन्ध लगाइसकेको छ । सम्भवत: यससँगै उनको खेल जीवन पनि समाप्त भएको छ । नाभेदले भनेका छन्, ‘मैले गलत काम गरेको छु, मलाई माफ गरिदेऊ ।’