साप्ताहिक संवाददाता
मार्सल आर्ट्सको विश्व खेलकुदमा जापानले कराँते र जुडो तथा कोरियाले तेक्वान्दो दिएको छ भने चीनले उसु । दक्षिण एसियाली खेलकुदमा उसुको लामो इतिहास छैन, सन् २००६ को कोलम्बो दक्षिण एसियाली खेलकुद (साग) देखि मात्र यसले प्रवेश पाएको हो, तर अहिलेसम्म भएका तीन संस्करणका सागमा नेपालले कुनै न कुनै स्वर्ण जितेकै छ ।
त्यही पहिलो संस्करणमा नेपालका लागि बिना लामा खड्का र राजकुमार रसाइलीले स्वर्ण जिते । सन् २०१० मा ढाकामा विनिता महर्जन र आङबाबु लामाले स्वर्ण हात पारे । यस परम्परालाई कायम राख्दै पछिल्लो सागमा नेपालका लागि निमा घर्तीमगरले स्वर्ण जितिन् । यस्तोमा भन्न सकिन्न, नेपालको गर्विलो इतिहास छ, उसुमा ।
उसु त्यस्तो प्राविधिक खेल हो, जसमा विशेष उपकरणको धेरै आवश्यकता हुन्छ । जस्तो, लट्ठी, तरबार आदि । त्यसको अभावमा तयारी राम्रो हुने गर्दैन । नेपाली उसुले आफ्नै घरमा हुने १३ औं साग अगाडि सामना गरेको समस्या भनेकै यही हो । नेपाली खेलाडी प्रतियोगिताको ठीक अगाडिसम्म पनि पुरानै म्याट्मा अभ्यास गर्न बाध्य रहे ।
त्यसैले प्रशिक्षक प्रकाश लामालाई के डर छ भने यी विशेष उपकरण समयमै उपलब्ध नहुँदा बेहोर्नुपरेको समस्याले कतै खेलाडीको प्रदर्शनमै पनि खराब प्रभाव पर्ने त होइन ? खासमा उसुले प्रतियोगिताका लागि भनेर खराब तयारी गरेको छ र यो यस्तो समस्या हो, जसमा प्रशिक्षक र खेलाडीको कुनै भुल छैन ।
ब्याडमिन्टनमा भारत मुख्य चुनौती
दक्षिण एसियाली खेलकुदमा ढिलो प्रवेश पाएको ब्याडमिन्टनमा नेपालले अहिलेसम्म खाली हात फर्कनुपरेको छैन, तर समस्या के छ भने नेपालले कहिल्यै स्वर्ण पदकका लागि चुनौती पनि पेस गर्न सकेको छैन । भारत दक्षिण एसियाको मात्र होइन, एसियाकै शक्तिशाली देश हो । त्यसो भनेको भारत विश्व ब्याडमिन्टनमै पनि निकै बलियो छ ।
यस्तोमा भारतको उपस्थितिमा ब्याडमिन्टनमा अरू देशको काम भनेको सन्तोषजनक प्रदर्शन गर्नु नै हो । यसपल्टको १३ औं दक्षिण एसियाली खेलकुद पनि अपवाद हुने छैन । नेपालले आफ्नो तयारी पोखरामा गरेको थियो र लगभग दुई महिना बन्द प्रशिक्षणमा राखेको थियो । यस्तै नेपालले केही प्रतियोगिताका लागि विदेशी भ्रमण पनि गर्यो ।
माल्दिभ्समा भएको उमेर समूहको प्रतियोगितामा नेपालले केही पदक जित्न पनि सफल रह्यो । प्रशिक्षक सुदीप योञ्जन पनि के मान्छन् भने ब्याडमिन्टनमा नेपालको खराब नतिजा आउनेछैन, तर भारत बलियो रहेको तथ्यलाई बिर्सन मिल्दैन । उनी के पनि दाबी गर्छन् भने आफ्ना खेलाडीको मनोबल उच्च छ । भारतको उपस्थितिमा लक्ष्य रजत पदककै हो ।
इतिहास पछ्याउँदै भारोत्तोलन
पहिलो संस्करणको दक्षिण एसियाली खेलकुददेखि समावेश खेलमा पर्छ, भारोत्तोलन । सागमा यो खेलको जति लामो इतिहास छ, नेपालले जितेका पदकको सूची बनाउने हो भने पनि त्यत्तिकै लामो हुन्छ । अझ सन् २००६ को कोलम्बो सागमा कमल अधिकारीले जितेको स्वर्णको सनसनी अझै पनि महसुस गर्न सकिन्छ ।
यस्तोमा प्रश्न हो, १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शन भारोत्तोलनमा कस्तो हुनेछ त ? यसपल्ट पनि एउटा खेलाडीका रूपमा चुनौती पेस गर्नेछन्, कमलले । उनले त्यति बेला प्राप्त गरेको सफलता भारतको अनुपस्थितिमा हात पारेको छ । यसपल्ट भारतले बलियो उपस्थिति जनाउँदैछ, त्यसैले नेपालको काम हो— त्यही भारतको चुनौती सामना गर्ने ।
भारोत्तोलनमै पनि भारत एसियाकै एउटा शक्तिशाली देश हो, विशेषत: उसका महिला खेलाडी विश्वस्तरीय छन् । त्यसैले पनि यो विधामा भारतलाई उछिनेर स्वर्ण जित्नु सजिलो हुनेछैन, तर पनि नेपाली भारोत्तोलनका लागि निराश हुनुपर्ने स्थिति पनि छैन । यसपछाडिको एउटा स्पष्ट कारण हो— पछिल्लो समय एकपछि अर्को कीर्तिमान बन्द रहनु ।