व्यावसायिक फुटबल खेलेर नेपाली खेलाडीमध्ये सबैभन्दा बढी कमाउने यिनै रोहित हुन् । उनी अहिले २९ वर्षका भए, सन् २००९ देखि व्यावसायिक फुटबल खेल्न थालेका हुन् । यो एक दशकमा उनले ४ लाख डलरको हाराहारीमा कमाएको हुनुपर्छ ।
सहिद स्मारक लिग ‘ए’ डिभिजनको तेस्रो चरणका खेल चलिरहेको थियो, सातदोबाटोमा । रोहित चन्द त्यहाँ आइपुगे । इन्डोनेसियामा फुटबल सिजन सकेलगत्तै उनी काठमाडौं झरेका थिए र सातदोबाटो पनि पुगे । उनको उद्देश्य खेल हेर्नु थियो होला, तर उनको आगमनले नेपाली फुटबल बजार एकाएक गर्मियो । अनुमान गर्न सुरु भयो, अब रोहितले पनि यहाँको लिग खेल्नेछ र उनी हुनेछन्, नेपाली लिगकै सबैभन्दा महँगा खेलाडी ।
हल्ला केसम्म चल्यो भने केही क्लब त उनलाई प्रत्येक खेलको २ लाख रुपैयाँ दिनसम्म पनि तयार थिए । खासमा यो हल्ला मात्र थिएन, साँच्चै थियो । उनलाई अनुबन्ध गर्न प्रमुख क्लब तयार पनि थिए, तर सायद रोहित आफैं तयार थिएनन् । उनी इन्डोनेसियामा एक लामो सिजन सकेर नेपाल फर्किएका थिए र उनको उद्देश्य आराम गर्नु नै थियो । र, यो आराम अर्को सिजनका लागि आफूलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउन आवश्यक पनि थियो ।
इन्डोनेसियाको लिग वानलाई एसियाकै एक उत्कृष्ट लिग मानिन्छ । सम्भवत: जापान र दक्षिण कोरियाको घरेलु लिगपछि सबैभन्दा अब्बल दर्जाका लिगमा यसलाई पनि मानिन्छ । यही लिगमा उनले गत सिजन पर्सिजा जाकार्ताका लागि खेले । यो इन्डोनेसियाली घरेलु लिगको सबैभन्दा सफल क्लबमध्ये एक हो । यो क्लबसँग रोहितको अनुबन्ध अझै जनवरीसम्म बाँकी छ । त्यसले पनि प्राविधिक रूपमा रोहितले हाम्रोमा तुरुन्तै खेल्ने सम्भावना पनि थिएन ।
कोही पनि नेपाली इन्डोनेसिया पुगेर जकार्ता पुग्नुपर्छ, अचेल उनलाई सबैभन्दा पहिले सोधिने प्रश्न हो, ‘के तपाईं रोहित चन्दलाई चिन्न हुन्छ ?’ यति धेरै लोकप्रिय छन्, रोहित इन्डोनेसियामा । नेपाली हो भनेर परिचय दिइसकेपछि इन्डोनेसियामा ठोक्किने पहिलो प्रश्न वास्तवमै यही हो, धेरैले यही अनुभव गरेको हुनुपर्छ । इन्डोनेसियाली पत्रपत्रिकाका पढ्नुपर्छ, थाहा हुन्छ, रोहितका ‘डाइहार्ड फ्यान’ इन्डोनेसियामा धेरै छन्, त्यसैले पनि उनको लोकप्रियता चुलिएको हो ।
यी फ्यान कस्तासम्म छन् भने रोहितलाई पर्सिया जाकार्ताले टिममा नराख्ने भएपछि त्यसको विरोधमा जुलुस नै निस्केको थियो, दुई सिजन अगाडि । एक वर्षअगाडि सन् २०१८ को सिजन त रोहित र पर्सिजा दुवैका लागि गज्जब नै रह्यो । क्लबले लिग उपाधि जित्यो, अनि रोहितले उत्कृष्ट खेलाडीको पुरस्कार । लिग वानमा ब्राजिलदेखि लिएर युरोपकै नाम चलेका खेलाडीसम्म पनि खेल्ने गर्छन् । यिनै खेलाडीबीच पनि रोहित लिगको उत्कृष्ट खेलाडी हुन सफल भएका हुन् ।
यसपल्टको सिजन भने रोहित र क्लब दुवैका लागि खासै रहेन् । सन् २०१९ मा क्लबले लिग उपाधिको रक्षा गर्न सकेन । रोहित आपैंmले पनि औसत प्रदर्शन मात्र गरे । सिजनको सुरुमै उनलाई बाली युनाइटेडले अनुबन्ध गर्न चाहेको थियो । पर्सिजाले लिग जित्दाका ब्राजिली प्रशिक्षक स्टेफानोले पनि रोहितलाई पनि बाली आउने प्रस्ताव राखेका थिए, रोहित आफैं भने तयार भएनन् । संयोग कस्तो रह्यो भने यही बाली युनाइटेड यसपल्टको च्याम्पियन रह्यो ।
अबको सिजन उनले कहाँबाट खेल्नेछन् त ? यो तय छैन । इन्डोनेसियाली लिग वानमा १८ टिम छन् र सबै टिम उस्तै–उस्तै बलिया छन्, टिमका आधारमा पनि आर्थिक हैसियतमा पनि । राम्रो विदेशी खेलाडीलाई यी क्लब राम्रै पारिश्रमिक दिन्छन् । रोहितले सन् २०१९ मा कति धमाए त ? उनको सीधा–सीधा उत्तर कसैले पनि दिँदैन । तय छ, उनले १ लाख डलरको छेउछाउमा कमाए होला, सायद व्यक्तिगत प्रदर्शन राम्रो नभएको यसभन्दा केही कम ।
बरु त्यसको पनि अघिल्लो सिजन उनले मज्जाले १ लाख डलरको हाराहारीमा कमाए होला, किनभने उनको त्यो सिजन वास्तवमै अद्वितीय थियो । उनले डिफेन्सिव मिडफिल्डरका रूपमा उत्कृष्ट प्रदर्शन गरे । गोलका लागि केही एसिस्ट पनि रचे र आफैं पनि केही गोल गरे । उनको भूमिका ठ्याक्कै भन्दा ‘बक्स टु बक्स’ मिडफिल्डरका रूपमा थियो । भन्नै पर्छ, नेपाली खेलाडीले विदेशी भूमिमा फुटबलमा प्राप्त गरेको सबैभन्दा ठूलो सफलता यही हो ।
अनि के पनि भन्न सकिन्छ भने फुटबल खेलेर नै यी एन्फा एकेडेमीका उत्पादन धनी पनि भएका छन् । व्यावसायिक क्रिकेट खेलेर नेपाली खेलाडीमध्ये सबैभन्दा बढी कमाउने निर्विवाध रूपमा सन्दीप लामिछाने हुन् । व्यावसायिक फुटबल खेलेर नेपाली खेलाडीमध्ये सबैभन्दा बढी कमाउने भने यिनै रोहित हुन् । उनी अहिले २९ वर्षका भए, सन् २००९ देखि व्यावसायिक फुटबल खेल्न थालेका हुन् । यो एक दशकमा उनले ४ लाख डलरको हाराहारीमा कमाएको हुनुपर्छ ।
यो अनुमान मात्र हो, उही नहुन सक्छ, तर उनले कमाएको रकम यसको वरिपरि नै हुन सक्छ । यसमा पारिश्रमिकदेखि लिएर पुरस्कार राशि पनि पर्न सक्छ । सुदूर पश्चिमका रोहितले एन्फा एकेडेमीमा छनोट भएयता पछाडि फर्केर हेर्नुपरेको छैन । सुरुमा उनले नेपालमा मछिन्द्रबाट खेले, त्यसपछि भारतको आई–लिग खेल्न हिन्दुस्तान लिबरबाट आबद्ध भए । त्यति नै बेला उनले युरोपमा खेल्न पनि प्रयास गरे । त्यही बेला हल्ला चलेको थियो, आर्सनल र टोटनहमले उनमा रूचि देखाएको थियो ।
यी हल्लाभन्दा बढी हुन सकेन, तर उनी इन्डोनेसियाली लिगमा भने लगातार व्यस्त रहे । सुरुमा पीएपीएस पाकेनबरुमा आबद्ध भए, त्यसपछि लगत्तै पर्सिजा जकार्ता । उनले केही समय मलेसियामा पनि खेले । नेपाल फर्केका बेला केही समय मनाङ–मस्र्याङ्दीबाट पनि खेले । सुरुदेखि नै घोषित अघोषित रूपमा रोहितको एउटै निर्णय रहेको छ, विदेशी क्लबकै लागि व्यावसायिक फुटबल खेल्ने । यो निर्णयमा जोखिम उत्तिकै थियो, तर रोहित जत्तिको खेलाडीले त्यति आँट गर्नु ठीक पनि थियो ।