
‘हामी जुन अवस्थामा खेलिरहेका छौं, हाम्रो सफलतालाई बढाउन धेरै कुराको खाँचो छ ।’ खेलेर मात्र खेलकुदको विकास हुँदैन, यसलाई व्यवस्थित रूपमा लैजान सके मात्र खेलकुदको विकास हुने रोसी बताउँछिन् ।
काठमाडौंमा सन् १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मार्शल आर्टका खेलाडीहरूले एकपछि अर्को गर्दै स्वर्ण पदक जितिरहेका थिए । यो स्वर्ण पदक जित्ने अभियानमा बक्सिङ खेलबाट देखा परे— प्रकाश थापा मगर र रामचन्द्र थापा मगर । पाचौँ सागमा रजत पदक जितिसकेका प्रकाश थापा मगरले आठौं सागमा ६७ किलोग्रामवाट स्वर्ण पदक जिते भने उनको सहोदर भाइ रामचन्द्रले ५७ किलोग्राम तौल समूहमा अर्को स्वर्ण पदक दिलाए । एकै परिवारका दाजुभाइले एउटै प्रतियोगितामा स्वर्ण पदक जितेको नेपालको खेलकुद इतिहासमा यसलाई पहिलो क्षणकै रूपमा हेरिन्छ ।
वि.सं. २०३८ देखि बक्सिङ खेल्न थालेका प्रकाशले २०४३ सालमा आफूलाई क्षेत्रीय स्तरको खेलाडी बनाइसकेका थिए । नातामा ठूलोबुबा पर्ने भुटु रानामगर, जसले दलबहादुर रानामगरलाई समेत बक्सिङ सिकाएका थिए उनैबाट प्रकाशले पनि बक्सिङको प्रारम्भिक प्रशिक्षण गर्ने मौका पाए । ‘मेरो बक्सिङको पहिलो गुरु नै उहाँ हुनुभयो, त्यसपछि मैले प्रवीण र मदनकुमार गुरुङबाट सिक्ने मौकासमेत पाएँ । आफूभन्दा सात–आठ वर्ष कान्छो भाई रामचन्द्रलाई पनि प्रकाशले प्रशिक्षण गराउँदै बक्सिङतर्फ आकर्षित गराउन सफल भएँ । म त्यो बेला क्षेत्रीय प्रतियोगिता खेल्ने भइसकेको थिएँ । आफूले जानेको कुरा उसलाई खोलाको बगरमा लगेर प्रशिक्षण गराउँथे । ऊ अलि आक्रामक स्वभावको भएका कारण उसले चाँडै सिक्यो ।’
नेपाली बक्सिङ खेलमा दलबहादुर रानामगरपछि राम्रा खेलाडीमा थापामगर दाजुभाइ नै देखिएका थिए । आफ्नो खेलकुद करिअरमा प्रकाशले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत २ स्वर्ण, २ रजत र १ कांस्य पदक दिलाए भने भाइ रामचन्द्रले १ स्वर्ण र १ कांस्य पदक दिलाएका थिए । अहिले प्रकाश विगत तीन वर्षदेखि नेपाली राष्ट्रिय बक्सिङ टिमको मुख्य प्रशिक्षक रहेका छन् । उनकै प्रशिक्षणको नेतृत्वमा नेपालले हालै १३ औं सागमा ऐतिहासिक ३ स्वर्ण पदक जित्यो भने उनका भाइले केही वर्षदेखि नेपाली सेनालाई बक्सिङको प्रशिक्षण गराउँदै आइरहेका छन् ।
तेक्वान्दोका प्रशिक्षक सोभितमान गिरीको लक्ष्य घरका सबै जना खेलाडी होऊन् भन्ने थियो । उनले आफ्नो पुस्तालाई खेलकुदमा लगाउन नसके पनि आफूपछिका पुस्तालाई भने खेलकुदमा लाग्ने माहौल नै बनाए । उनले रोमी गिरीलाई तेक्वान्दोको प्रशिक्षण गराउन थाले । रोमीको पदचाप पछ्याउँदै बहिनी रोसी गिरी पनि तेक्वान्दो खेलमा आइन् र उनीहरूका भाइ रोशन गिरी पनि अहिले तेक्वान्दोमै रहेका छन् । रोमी र रोजीले तेक्वान्दोको फोर डन हासिल गरे भने भाई रोशन सेकेन्ड डन रहेका छन् ।
२२ जनाको संयुक्त परिवारमा रहेका गिरी परिवारको दोस्रो पुस्ताका ९ जना सदस्य तेक्वान्दो र कराँते खेलमा रहेका छन् । नेपालभित्रका धेरै प्रतियोगिता खेलेका रोमी अहिले दक्षिण कोरियाको सियोल नेसनल युनिभर्सिटीमा स्पोर्ट्स म्यानेजमेन्टमा मास्टर डिग्री छात्रवृत्तिमा पढ्दै छिन् । उनकी बहिनी रोसी कानुनमा बीए एलएलबी गर्दैछिन् भने उनले स्पोर्ट्स लिडरसिपको धेरै किसिमका तालिम सञ्चालनसमेत गरिसकेकी छिन् ।
नेपालभित्रका खेलकुद प्रतियोगितामा मात्र सहभागी भएकी रोमी आफूले पढाइलाई प्राथमिकतामा राखेका कारण आफूहरू अन्तर्राष्ट्रिय खेलाडी हुन नसकेको बताउँछिन् । यस्तै किसिमको कथन रोसीको पनि छ, ‘हामीले स्पोर्ट्समा खेलाडी बनेर बिताउने भन्दा पढाइमार्फत् स्पोर्ट्स करिअरका रूपमा अगाडि बढ्ने सोचाइ बनायौं ।’
रोसी भन्छिन्, ‘हामी जुन अवस्थामा खेलिरहेका छौं, हाम्रो सफलतालाई बढाउन धेरै कुराको खाँचो छ ।’ खेलेर मात्र खेलकुदको विकास हुँदैन, यसलाई व्यवस्थित रूपमा लैजान सके मात्र खेलकुदको विकास हुने उनी बताउँछिन् ।
रोमी आफूले खेलकुदको व्यवस्थित विकास होस् भनेर स्पोर्ट्स एड्मिनिस्ट्रेसन विषय पढिरहेको बताउँछिन् । रोमीले रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै दिप प्रज्वलन कार्यक्रममा वक्ता बनेकी थिइन् । यो क्षण नेपाली खेलकुदले ओलम्पिक प्रतियोगितामा पाएको पहिलो सम्मान पनि थियो ।
दानबहादुर तामाङ आफ्नो जमानाका चर्चित राष्ट्रिय खेलाडी थिए । थातथलो भोजपुरमै घरबाहिर कोर्ट बनाएर उनी ब्याडमिन्टनको माहौल बनाउँथे । बाबुको ब्याडमिन्टनप्रतिको लगावले उनका दुई छोरी र छोरालाई पनि आकर्षित गथ्र्यो । यसै क्रममा सारा, नङ्सला र रत्नजित पनि बेलाबेलामा बाबुको र्याकेट समाएर ब्याडमिन्टन खेल्थे । यो आकर्षणले उनीहरूलाई पनि प्रशिक्षण गराउन बाबुलाई बाध्य पार्यो भने बाबुलाई पनि आफ्ना सन्तान आफ्नै पदचापमा हिँडून् भन्ने थियो ।
नभन्दै २०५८ सालमा सारा र नङ्सलाले क्षेत्रीय प्रतियोगितामा पहिलो पटक उमेर समूहमा खेल्ने मौका पाएँ । यिनै तामाङ परिवारका नङ्सला र रत्नजितले एक दशकको कठिन अभ्यासपछि वि.सं. २०६९ मा पाकिस्तानको इस्लामाबादमा आयोजित योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनलमा मिक्स डबल्समा पहिलो भएर ब्याडमिन्टनमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भए । हाल नेपाली सेनाको क्लबबाट ब्याडमिन्टन खेल्ने तामाङ दिदीभाई अझै पनि ब्याडमिन्टनमा उत्तिकै सक्रिय रहेका छन् । रत्नजितले हालै सम्पन्न १३ औं सागमा नेपाललाई पुरुष एकलमा कांस्य पदकसमेत दिलाए ।