साप्ताहिक संवाददाता
खेलाडीहरूले आफूलाई खेलकुदमार्फत सफलता दिलाउने भनेकै युवा उमेरमै हो । खेलाडीहरूको युवा उमेरको हद यति नै वर्ष हुन्छ भन्ने कुनै अन्तर्राष्ट्रिय मान्यता छैन । यदि आफूलाई नयाँ पुस्ताले विस्थापित नगरेसम्म ऊ युवा खेलाडीकै श्रेणीमै परेर खेलिरहेको हुन्छ ।
सक्रिय खेलाडी जीवनबाट अलग भएपछि धेरै खेलाडीहरू दुविधामा हुने गर्छन् । विकासशील राष्ट्रमा हेर्ने हो भने धेरै खेलाडीहरू खेल जीवनपछि प्रशिक्षकका रूपमा काम गर्न थाल्छन् भने पश्चिमी मुलुकमा पनि यही किसिमको ट्रेन्ड रहेको देखिन्छ । तर, पछिल्लो पटक अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका धेरै खेलाडीहरूले आफ्नो करिअरमै नयाँ सम्भावनाको ढोका खोल्ने काम गर्न थालेका छन् । नाम चलेका अन्तर्राष्ट्रिय खेलाडीहरूलाई विभिन्न व्यापारिक कम्पनीहरूले ‘ब्रान्ड एम्बेसडर’ बनाउने क्रममा ठूलो धनराशी खर्च गर्ने परम्परा बसेको छ । यसरी प्राप्त भएको रकम खेलाडीहरूले पनि विभिन्न व्यापारको क्षेत्रमा लगानी गरेर आफूलाई व्यापारीको श्रेणीमा खेल करिअरकै बेला राख्ने गरेको देखिन्छ । अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम र दाम कमाएका धेरै खेलाडीहरूले कुनै न कुनै किसिमको व्यापारलाई अँगालेर अन्तर्राष्ट्रिय ब्रान्डसमेत बनाइसकेका छन् ।
खेलाडी हुँदै व्यापारी बन्नेमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको नाम अगाडि आउने गर्छ । ७ नम्बर जर्सीमा फुटबल मैदानमा उत्रिने रोनाल्डो ‘सि सेभेन’ ब्रान्डको कम्पनी खोलेका छन् । यो ब्रान्डबाट उनले अण्डरवेयरहरूको उत्पादन थाले पनि उनले अहिले परफ्युम, डेनिम, जुत्ता र जिमका सामग्रीहरूको उत्पादनको क्षेत्रमा पनि हात हालेका छन् । रोनाल्डोले खेल र विज्ञापनबाट जति पैसा आम्दानी गरिरहेका छन्, त्योभन्दा बढी अहिले उनको ब्रान्डबाट हुन थालेको छ । उनी आफ्ना उत्पादनहरूलाई करोडौं फलोअर्स रहेको सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत प्रचार–प्रसार गरिरहेका हुन्छन् ।
क्रिष्टियानो रोनाल्डोकै समकक्षी वा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका लियोनल मेस्सी पनि छन् । सन् २०१९ मा विभिन्न कम्पनीहरूको ब्रान्ड एम्बेसडर भएर १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ आम्दानी गरेका थिए उनले घडी कम्पनी खोलेका छन् । आउडेमर पिग्वेट ब्रान्डको महँगो घडी उत्पादनको क्षेत्रमा मेस्सी लागेका छन् । उनको कम्पनीले उत्पादन गरेको घडीको मूल्य न्यूनतम ३४ लाखदेखि ६८ लाख रुपैयाँ पर्ने गर्छ ।
टेनिस खेलबाट सर्वाधिक आम्दानी गर्ने खेलाडीमा रसियन सुन्दरी मारिया सारापोभा पनि पर्छिन् । फोब्र्स म्यागजिनले मारिया सारापोभालाई धेरै पटक सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीको शीर्ष सूचीमा समेत राखिसकेको छ । एक अनुमानअनुसार सारापोभाले टेनिस खेलबाट मात्र २२ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकी थिइन् । पाँच पटक ग्राण्डस्ल्याम उपाधि जितेकी सारापोभाले आफ्नो नामसँग मिल्ने गरेर सुगरपोभा नामक क्याण्डीको कम्पनी खोलेकी छन् । यो कम्पनीले चकलेट, गमीज, गमबल, ट्रुफेल्स जस्ता गुलिया खानेकुराहरू उत्पादन गर्दै आएको छ ।
टेनिस खेलाडी भेनस विलियमले पनि खेल जीवनमा ७ वटा ग्राण्डस्ल्याम जितेर ४ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरिन् । यो बाहेक उनलाई पनि विभिन्न कम्पनीहरूले ब्रान्ड एम्बेसडरका रूपमा लिएको थियो । आम्दानी राम्रो भएपछि भेनसले पनि विभिन्न कम्पनीहरूमा लगानी गरेर आफूलाई खेलाडी सँगसँगै व्यापारीका रूपमा पनि स्थापित गर्ने प्रयास गरिन् । उनले पहिलो पटक फेसन ब्रान्ड एलिभेनमा लगानी गरिन् भने पछि उनले एक इन्टेरियर डिजाइन गर्ने फर्म सञ्चालन गरिन् । यो बाहेक भेनसले सन् २००९ मा एनएफएल मियामी डल्फिनमा समेत लगानी गरेकी थिइन् । भेनसको बहिनी सरिना विलियमले टेनिस करिअरमा २३ पटक ग्रान्डस्ल्याम जितिन् । खेल करिअरबाट उनले २० अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ । सरिनाले पनि दिदी भेनससँग मिलेर मियामी डल्फिनमा लगानी गरेकी थिइन् भने उनले अलग्गै लगानी कम्पनी पनि सञ्चालन गरिन् । यो लगानी कम्पनीले मूलत: महिलाहरूले सञ्चालन गर्न लागेको कम्पनीलाई आर्थिक लगानी गर्ने गर्छ ।
मियामीको फुटबल टिमबाट खेल्ने डुवाने जोन्सनको प्रशंसक अहिले अत्यधिक छ । फुटबलबाट प्रोफेसनल रेस्लरको करिअर थालेपछि डुवानेको प्रशंसकको संख्या अत्याधिक बढेको थियो । पछिल्लो समय हलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारका रूपमा देखापरेपछि डुवानेले ‘सेभेन बक्स प्रडक्सन’ कम्पनीको स्थापना गरे । यो कम्पनीले अहिले विभिन्न टेलिभिजन कम्पनीहरूलाई टेलिभिजन शोको निर्माण गर्ने गर्छ । यो प्रोडक्सन कम्पनीले निर्माण गरेका कार्यक्रमहरू अत्याधिक लोकप्रिय हुने गरेका छन् ।
अमेरिकी गल्फर क्रिष्टि केरले आफ्नो गल्फ करिअरमा २० भन्दा बढी उपाधिहरू जितिन् । यो सफलताले उनलाई २ अर्ब २८ करोड रुपैयाँ दिलायो । गल्फ खेलाडी हुँदै क्रिष्टिले ‘द एप्रेन्सिट’ ब्रान्डको वाइन उत्पादनको क्षेत्रमा हात हालिन् । उनले उत्पादन गरेको वाइनलाई धेरैले मनपराए र उनलाई चाँडैनै व्यापारीका रूपमा स्थापित गरे । अहिले उनको कम्पनीले उत्पादन गर्ने कार्डोनायेस र कार्बरनेट वाइनको क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
हालै हेलिकप्टर दुर्घटनामा मृत्यु भएका बास्केटबल खेलाडी कोबे ब्रायन्टले सन् २०१६ मा एनबीएबाट संन्यासको घोषणा गरे । सोही वर्ष उनले स्थापना गरेको ग्रानिटी स्टुडियोले निर्माण गरेको ‘डियर बास्केटबल’ ले एकेडेमी एवार्डसमेत जित्यो । ब्रायन्टले ६८ करोड ४० लाख रुपैयाँमा बडी आर्मर नामक स्पोर्टस् ड्रिंक्स कम्पनी सञ्चालनमा ल्याए । उक्त कम्पनीले केही वर्षमै २२ अर्ब ८० करोड रुपैयाँ फाइदा गरेको थियो । बाँस्केटबल खेलाडी लोन्जो बल एनबीएमै रहँदै व्यापारको क्षेत्रमा प्रवेश गरेका थिए । लोन्जोको बुवाले विग बलर ब्रान्डको कम्पनी खडा गरेर बाँस्केटबल खेलाडीले लगाउने जुत्ताको उत्पादन गर्ने गर्थे । जसमा लोन्जो स्वयं बाँस्केटबल खेलाडी भएको कारण उनलाई उक्त ब्रान्डको जुत्ताको प्रचार–प्रसार गर्न गाह्रो परेन । लोन्जोले खेल करिअरमा पाएको सफलतासँगसँगै उक्त ब्रान्डले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा र सफलता पाउन सफल भएको थियो ।
आफ्नो खेल करिअरमा ओस्कार डि ला होया सफल बक्सर मानिन्थे । विश्व बक्सिङ च्याम्पियनसिपमा समेत सफल भएका होयाले खेल करिअर समाप्त भएपछि आफूलाई बक्सिङको प्रमोटरका रूपमा स्थापित गरे । उनले सन् २००२ मा गोल्डेन ब्वाई नामक प्रमोसन कम्पनीको स्थापना गरेर ठूला–ठूला धनराशीको बक्सिङ प्रतियोगिता आयोजना गर्न थाले । जसमा उनले कानेलो एल्भारेज, मेनि पाक्युया, डियोन्टे वाईल्डर जस्ताको भिडन्त गराएर राम्रो आम्दानी गर्न सफल भएका थिए ।
महिला कार रेसको क्षेत्रमा डानिका प्याट्रिसियाले पाएको सफलताले उनको साथमा धेरै कम्पनीहरूले ब्रान्ड इन्डोर्समेन्ट गरे । जसको कारण स्पोर्टिङ करिअरमा उनले राम्रै आम्दानी गर्न सफल समेत भइन् । महिला कार रेसको क्षेत्रमा प्रेरणाको स्रोतसमेत बनेकी प्याट्रिसियाले खेल करिअरकै बेला वाइन कम्पनी सोमिनुमको स्थापना पनि गरिन् । यो बाहेक उनले क्लोथिङ ब्रान्ड पनि सञ्चालनमा ल्याइन् । उनको लोकप्रियता र सफलताले यी कम्पनीहरूले पनि धेरै फाइदा गरे ।