साप्ताहिक संवाददाता
कराँते खेलाडी अनु अधिकारी एक प्रकारले दोमनमा छिन् । दु:ख के तथ्यमा छ भने उनले खेल्ने भनिएको ओलम्पिक्स छनोट अब कहिले हुने हो, त्यो टुंगो पटक्कै छैन । खुसी के तथ्यमा पनि छ भने सायद छनोट पछाडि सरेको हुनाले केही बढी समय तयारी पो गर्न पाउने हो कि ? यस्तो स्थिति उनको मात्र होइन, नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिक्सको छनोट खेल्न सबै खेलाडीको नै हो । डर छ, कतै यी खेलाडी मानसिक दबाबमा आए भने ?
त्यसैले केही दिन अगाडि मात्र नेपाल ओलम्पिक्स कमिटीले तिनै खेलाडीको मनोस्थिति बुझ्ने प्रयास गरेको थियो, त्यो भनेको सामाजिक सञ्जालको मदतले मनोपरामर्स । त्यसो त कोरोना भाइरसको संक्रमणले पूरा विश्व आक्रान्त छ र यसको महामारीले नछोएको त्यस्तो कुनै क्षेत्र छैन, जसले आफू जोगिएको अनुभव गर्न सकोस । यस्तोमा विश्व खेलकुद मात्र कसरी अछुतो रहन सक्छन् र ? कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी नराम्रोसँग प्रभावित भएकोमा विश्व खेलकुद पनि रह्यो ।
भनिन्छ, अब विश्व खेलकुद त्यस्तो कहिले पनि रहने छैन, जस्तो यसअघि थियो । पूरा विश्व फेरिए जस्तै विश्व खेलकुद पनि फेरिने छ । नेपाली खेलकुद पनि त यसको एक भाग न हो, यो पनि उत्तिकै नराम्रोसँग प्रभावित रह्यो । सम्भवत: सबैभन्दा बढी तत्काल प्रभावित हुने अनु जस्तै ओलम्पिक्सको छनोट खेल्ने नै खेलाडी नै रहे । अहिले यी सबै खेलाडी आफ्ना प्रशिक्षकको सम्पर्कमा छन् र आफूलाई शारीरिक र मानसिक रूपमा कसरी तयारीमा रहने भन्नेमा केन्द्रित छन् ।
सरकारले लागू गरेको लक डाउन सुरु हुन अगाडिसम्म नेपालमा कुनै एक खेल लगातार व्यस्त थियो भने त्यो फुटबल थियो । त्यसै पनि नेपालमा फुटबलका प्रतियोगिता एकपछि अर्को हुने गर्छ । मोफसलमा त फुटबलका प्रतियोगिताको आयोजना कहिले पनि रोकिन्न । तर, अहिले विश्व फुटबल जस्तै नेपाली फुटबल पनि शून्यको स्थितिमा झरेको छ । लकडाउन सुरु हुन ठीक अगाडि सहिद स्मारक लिगका ‘ए’ डिभिनज सकिएर ‘बी’ डिभिजन सुरु भएको थियो ।
अझ अखिल नेपाल फुटबल संघ (एन्फा) त ‘सी’ डिभिजन सुरु गर्ने योजनामा थियो । तर, अहिले ‘बी’ डिभिजन पनि नसकिएको अवस्था छ र ‘सी’ डिभिजन हुनेमा आफैंमा अन्योलता छाएको छ । एन्फाले त्यसैबीच महिलाको लिग सुरु गर्ने महत्त्वकांक्षी कार्यक्रम पनि तयार मात्र पारेको थियो, त्यो पनि अब कहिले हुनेको अनिश्चित भएको छ । त्यसमाथि लकडाउन सुरु भएपछि मोफसलका कुनै पनि नकआउट प्रतियोगिता हुन नसकेको स्थिति छ ।
यसले त्यस्ता प्रतियोगिता आयोजना गर्ने क्लब र संस्था ठूलो मारमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्ना सबै कार्यक्रम स्थगित नगरेको भए, विश्वकप छनोटका खेल पनि यही बेला हुने पर्ने थियो । विश्वकप छनोटका लागि नेपालले आफ्नो भूमिमा हुनुपर्ने खेल दशरथ रंगशालामा खेल्ने तय थियो, ती सबै अब पछाडि सारिएका छन् । यसको सबैभन्दा ठूलो मार भने पक्कै पनि खेलाडीलाई परेको छ । खुसी कम्तीमा के भने लकडाउनकै बेला पनि दशरथ रंगशालाको मैदानको स्तरोन्नतिको काम पनि चलिरहेको छ ।
भूकम्पपछि लामो समय नेपाली फुटबललाई आफ्नो स्थिति सम्हाल्न नै गाह्रो भएको थियो । त्यसै कारण धेरै फुटबल खेलाडी बेरोजगारको स्थितिमा पुगे र त्यसपछि धेरै विदेश पनि पलायन भए । फेरि यस्तै स्थिति दोहोरिने डर भएको छ, अझ यसपल्ट त विदेश जाने विकल्प पनि नहुन सक्छ । फुटबल नभएपछि क्लबले खेलाडीलाई पारिश्रमिक दिन कन्ज्युसाइ गर्न सक्नेछन्, नयाँ सिजन सुरु हुने अवस्थानमा क्लबले खेलाडीलाई अनुबन्ध गर्न पनि हतार नगर्न सक्छ ।
त्यसैले फुटबल खेलाडीलाई ठूलो आर्थिक संकट पार्न सक्ने डर छ । क्लबलाई प्रायोजनको समस्या पनि उस्तै हुनेछ । नेपाली राष्ट्रिय टिमका केही सिनियर खेलाडीले गुपचुप नै सही यसमा चिन्ता व्यक्त गर्न थालेका छन् । यही बेला नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाले नेपाली खेलाडीको स्थिति र भविष्यलाई लिएर केही पनि चासो नदेखाएको आरोप पनि लाग्न सुरु भएको छ । यही स्थितिबाट फेरि घरेलु फुटबल सुरु गर्न एन्फालाई पनि उत्तिकै चुनौती हुनेछ ।
फुटबलपछि सबैभन्दा नेपालमा सबैभन्दा बढी सक्रिय हुने खेल त क्रिकेट नै हो । फुटबल जस्तै नेपाली क्रिकेट पनि उत्तिकै नराम्रोसँग ग्रसित भएको छ । कोरोना भाइरसको संक्रमणको डलरबीच नेपालले खेल्ने भनिएका लगभग सबै ठूला सिरिज स्थगित भएका छन्, केही सारिएका छन् । सारिएका पनि कहिले हुने हो, त्यसको टुंगो छैन । तर, सबैभन्दा ठूलो दु:खको रूपमा अगाडि आएको छ, एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थगित हुनु ।
लकडाउन सुरु हुन अगाडि नै ईपीएल स्थगित भएको घोषणा भइसकेको थियो । ठीक समयमा यसको आयोजना भएको भए, यो नेपाली क्रिकेटको मात्र नभएर नेपाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवमध्ये एक हुने निश्चित थियो । पूरा विश्व क्रिकेटमै यसको चर्चा थियो, किनभने यही प्रतियोगिता खेल्ने भनेर ट्वान्टी–२० क्रिकेटका सबैभन्दा ठूलो स्टार वेस्ट इन्डिजका क्रिस गेल नेपाल आउने तय भइसकेको थियो । उनी मात्र होइन, अन्य केही ठूला नाम पनि नेपाल आउने तय थियो ।
तर, यो प्रतियोगिता नहुने तय हुँदा त्यसको सबैभन्दा ठूलो मार तिनै विदेशी खेलाडीलाई भन्दा समग्र नेपाली क्रिकेटलाई भएको छ । यो प्रतियोगिता भएका भए यसका फ्राइन्चाइज टिमले नेपाली खेलाडीका लागि मोटो रकम खर्चिने निश्चित थियो । यसले नेपाली खेलाडीलाई ठूलो आर्थिक सहयोग हुने पनि थियो । ईपीएल जस्ता प्रतियोगिताकै कारण नेपालमा व्यावसायिक क्रिकेटको सम्भावना पनि बढेको थियो । तर, कम्तीमा केही समयका लागि यो क्रम टुटेको छ ।
काठमाडौं र पोखरालगायत केही अन्य स्थानमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको समाप्तिसँगै नेपाली खेलकुदका अन्य खेल एक प्रकारले सुस्ताएको स्थिति नै थियो । त्यसमध्ये केही खेलले भने टोकियो ओलम्पिक्समा लागि हुने छनोटको तयारी गरिरहेको थियो, त्यसमध्ये एक थिइन्, तिनै अनु । उनीसँगै ओलम्पिक्स छनोटको तयारीमा १६ खेलाडी थिए । तर, दु:ख के भने एक त टोकियो ओलम्पिक्स आफैं एक वर्ष सरेको छ । यसै वर्ष हुने भनिएको टोकियो ओलम्पिक्स अब सन् २०२१ मा मात्र हुनेछ ।
त्यसको छनोट प्रतियोगिताबारे अझै निश्चित हुन सकेको छैन । यसैबीच नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्ले पनि नेपाली खेल र खेलाडीलाई लिएर चासो देखाएको छ र उसको दाबी मान्ने हो भने नेपाली सबै खेलाडी सकुशल छन् । यो त खुसीकै समाचार भयो, परिषद् खेलाडीलाई केही गाह्रो भएको भए, सहयोग गर्न पनि तयार छ । परिषद्सँग जोडिएको अर्को समाचार भने दुखद् त र त्यो हो, अबको राष्ट्रिय खेलकुदको अनिश्चितता ।
तय कार्यक्रमअनुसार एक वर्षपछि गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने हो । पूर्वाधारको आधारमा प्रतियोगिता आयोजना गर्न खासै समस्या छैन । तर, प्रतियोगिता पछाडि सर्ने क्रममा यसको सोझो असर यही राष्ट्रिय प्रतियोगितामा पनि पर्ने निश्चित छ । तर, अहिले पूरा विश्वको ध्यान खेलकुदमा नभएको बेला नेपाली खेलकुद र खेलाडीले मात्र चिन्ता लिएर के गर्ने र ? अहिले विश्वका लागि खेलकुद प्राथमिकताको क्षेत्र रहेको छैन नै ।