केनी डगलस अब पहिले जस्तो शारीरिक रूपमा बलिया छैनन् । केही दिन अगाडि मात्र उनी बिराम परेका थिए, उनलाई इन्फेक्सन भएको थियो र त्यसै कारण लन्डनको अस्पतालसमेत भर्ना हुनु परेको थियो । निको पार्नका लागि उनमा एन्टीबाइटिक्स औषधि चलाइरहेको थियो । ठीक यही बेला समाचार आयो, डगलसलाई त कोरोना भाइरसले संक्रमण भएको छ । यसले त इंग्लिस फुटबलमा खैलाबैला नै मच्चियो । उनी लिभरपुलका लेजेन्डरी खेलाडी र व्यवस्थापक हुन् ।
विशेषत: लिरभपुलका समर्थकले उनको स्वास्थ्य स्थितिमा शीघ्र सुधारको कामना गरे । नभन्दै यही साता डगलस अस्पतालबाट छुटे र अहिले घरमै आइसोलेसनमा उपचार गरिरहेका छन् । यस्तोमा सबैले राहत महसुस गरे । पूरा विश्व कोरोना भाइरस संक्रमणबाट बच्न संघर्ष गरिरहेको बेला खेलकुद क्षेत्र पनि यसबाट टाढा रहन भएन । संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा देखिएको छ, त्यसमा इटाली र स्पेनमा । त्यसपछि इंग्ल्यान्ड पनि ।
यी तीनै देशमा सबैभन्दा लोकप्रिय खेल फुटबल नै हो । यस्तोमा संक्रमणको सबैभन्दा बढी चपेटामा यही खेलका व्यक्तित्व परेका छन् । लिभरपुलकै पूर्व खेलाडी हुन्, गोलरक्षक पेप रैना । उनी अहिले अर्को इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेलिरहेका छन् । उनी पनि निको भइसकेका छन्, तर संक्रमित स्थितिमा जुन प्रकारको कठिन स्थिति उनले बेहोरे, त्यो निकै मन दुखाउने खालेका छ । उनले मिडियालाई आफ्नो पूरा कथा पनि सुनाएका छन् ।
खासमा उनको स्थितिको निचोड हो, उनी मृत्युको मुखमा पुगेर पनि फर्कन बाध्य रहे । उनले भनेका छन्, ‘मलाई कोरोना भाइरसले संक्रमण गरेपछि पूरा जीवनकै सबैभन्दा खराब स्थितिको सामना गरें ।’ इटालीको नेपोलीबाट ऋणमा एस्टन भिल्लाका लागि खेलिरहेका रैनालाई केही दिन अगाडि स्वास्थ्यमा समस्या भएको थियो । उनलाई स्वास फेर्न नै समस्या भइरहेको थियो । किन हो, केही नगरे पनि रैनालाई आलस्य महसुस भइरहेको थियो ।
यस्तोमा त्यस्तो आधा घन्टा जत्तिको समय पनि आयो, जति बेला रैनाले माने, ‘अब म मर्दैछु ।’ त्यो आधा घन्टाको समयमा यी स्पेनी गोलरक्षकले स्वास नै फेर्न सकेनन् । घाँटी र नाकमा केही अड्किरहेको जस्तो अनुभव भएको थियो । शरीरमा लगातार अक्सिजनको अभाव भएपछि उनले आफूलाई स्थिर र जीवन्त राख्न संघर्ष गर्नुपर्यो । उनले आफ्नो जीवनको अन्त्य देखे । धन्न, उनी तत्काल अस्पताल पुगे र उपचारको सुविधा पाए ।
अस्पतालबाट छुटेपछि उनले भनेका छन्, ‘हामी त धेरै भाग्यमानी छौं किनभने हामीसँग आर्थिक क्षमता पनि छ, हामीले उपचार पनि चाँडै पायौं । हाम्रो आफ्नो परिवार पनि छ, अनि घर पनि । तर, सोचौं, जसको घर र परिवार छैन, जसको आर्थिक क्षमता पनि कमजोर छ, उसैलाई कोरोना भाइरसको संक्रमण भयो के होला ? हामी कल्पना पनि गर्न सक्दैनौं ।’ उनको अर्को अनुभव के पनि हो भने यो भाइरसबाट संक्रमित भयो भने बिरामीले गर्नुपर्ने सबैभन्दा प्रमुख काम हो, आफ्नो आत्मविश्वासलाई बलियो पार्ने ।
यहाँनिर एउटा प्रश्न पनि छ, इटाली र स्पेनमा किन कोरोना भाइरस संक्रमण बढी देखियो त ? यसका सम्भावित उत्तर धेरै छन् र त्यसमध्ये एउटा कारण फुटबललाई पनि मानिएको छ । भएको के थियो भन्दा युरोपतिर लकडाउन सुरु हुन अगाडि सामाजिक दूरीको नियम पनि आएको थिएन । त्यही बेला युरोपेली च्याम्पियन्स लिगमा इटालीको एटलान्टा र स्पेनको भ्यालेन्सियाबीच खेल भएको थियो, अन्तिम १६ को चरणमा । खेल इटालीको मिलानमा भएको थियो ।
त्यो खेल हेर्न भ्यालेन्सियाका धेरै समर्थक इटाली आएका थिए र खेलपछि स्पेन फर्के । अनि एटलान्टनाका समर्थक पनि आ–आफ्नो घर परिवरामा फर्के । सानसिरोमा भएको त्यस खेलबाटै दुवै देशमा संक्रमण बढ्नुमा सबैभन्दा ठूलो भूमिका खेल्यो । त्यसैले यो खेललाई नै मानवीय जैविक बम भन्न सुरु भएको छ । यो खेलपछि विशेषत: इटालीमा भाइरस संक्रमितको संख्या नाटकीय ढंगले बढेको थियो । यसले मृत्यु हुनेको संख्या पनि अत्याधिक रह्यो ।
कोरोना भाइरसको संक्रमणबाट छुने एक अर्काे फुटबल व्यक्तित्व रहे, आर्सनलका स्पेनी व्यवस्थापक मिखेल आर्टेटा । उनी त्यस अगाडि भर्खर जस्तो गरेर आर्सनलमा जिम्मेवारी सम्हाल्न आएका थिए । त्यस अगाडि उनी म्यानचेस्टर सिटीमा थिए, त्यहाँका व्यवस्थापक पेप ग्वार्डिओलाको सहायकका रूपमा । आर्सनल आएको केही दिनमै उनी संक्रमित भए र उपचारमा संलग्न भए । उनी पनि अहिले निको भइसकेका छन् । उनले सुनाएको कथा पनि उत्तिकै हृदयविदारक छ ।
उनको भनाइ हो, मानिस सामाजिक प्राणी हो, उसका लागि आफ्नो परिवार, साथीभाइको ठूलो अर्थ हुन्छ । विशेषत: आफू नजिकका परिवारको सदस्यको त निकै ठूलो महत्त्व हुन्छ । भाइरसबाट संक्रमति भएर उपचारमा संलग्न हुँदा स्पेनका पूर्वखेलाडी आर्टेटाले यही सुखलाई अनुभव गर्न पाएनन्, परिवारबाटै टाढा रहे । अझ उनले आफ्नो श्रीमतीलाई पनि समेत भेट्न पाएनन्, खालि टाढाबाट मात्र हेर्न पाए, अनि फोनमा मात्र कुरा गर्न पाए ।
आर्टेटाको भनेका छन्, ‘अहिले सुन्दा सामान्य र हल्का लाग्न सक्छ, तर मैले बिरामी पर्दा आफ्नो परिवारको सदस्यतासँगको सामिप्य गुमाएँ । मायाले भरिएको एउटा अँगालोको पनि जीवनमा ठूलो महत्त्व हुन्छ, मैले यही बेला महसुस गरेँ । मानिस आफ्नो नजिककाको सामिप्य भएन भने बाँच्न सक्दैन ।’ उनका साथी ग्वार्डिओला भने त्यति भाग्यमानी रहेनन् । स्पेन र बार्सिलोनाका यी पूर्वखेलाडी तथा व्यवस्थापकले कोरोना भाइरसको संक्रमणकै कारण आफ्नै आमालाई गुमाए ।
ग्वार्डिओलाले त्यस अगाडि यस संक्रमणबाट बच्न संघर्ष गरिरहेको आफ्नो देशका लागि १० लाख पाउन्ड सहयोगको घोषणा गरेका थिए । तर, यिनै ग्वार्डिओलाले आफ्नी आमालाई बचाउन सकेनन् । उनकी ८२ वर्षीय आमा डोर्लोस साला कारियाले आखिरमा मृत्यु आत्मसात् गरिन् । खोज्दै जाने हो भने कोरोना भाइरसको संक्रमणबाट छुने खेल व्यक्तित्वहरू धेरै हुनेछन् । केही नभए पनि खेलाडीको परिवार पनि यसको संक्रमणमा परेकै होला । आउने दिनमा उनीहरूको व्यथाको कथा पनि बाहिर निस्कने छ नै ।
-एजेन्सीको सहयोगमा