
साप्ताहिक संवाददाता
सत्ययुगमा देवता र दानवले अमृतका लागि समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष भगवान् शिवले पिएपछि उत्पन्न डाहले छटपटिंदै गोसाइँकुण्ड आइपुगेर आफ्नो त्रिशूलले पहाडको शिलामा हान्दा तीनधारासहित जल उत्पन्न भयो। त्यसरी निस्किएको जल तलसम्म बग्दै जाँदा कुण्ड भएर गोसाइँकुण्ड बनेको हो भन्ने किंवदन्ती छ। यसको वरिपरि सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड जस्ता धेरै कुण्ड छन्, जसको जललाई अमृतसमान मानिन्छ।
गोसाइँकुण्डको यात्रा सहज छ। खाने बस्ने ठाउँ प्रशस्त छन्। यात्राका क्रममा केही सामान्य औषधी, बलियो जुत्ता, छाता, रुकस्याक, चकलेट, बिस्कुट र लसुन-अदुवाका टुक्राहरू बोक्नु राम्रो हुन्छ। उकालो चढ्दा लेक लाग्न सक्छ। लेक लागे ओरालो झर्नुपर्छ र केही समय आराम गरी फेरि हिँड्नुपर्छ। टाउको दुख्नु, वाकवाकी लाग्नु, रिंगटा लाग्नु, लगातार दिसा लाग्नु र दिसा-पिसाब पहेंलो हुनु लेक लागेको लक्षण हो। यस्तो अवस्थामा तातो झोल खाँदा फाइदा हुन्छ। जंगली जनावर, चराचुरुंगी, चौंरी गाईसँग मितेरी गाँस्दै पर्वतीय जीवनशैलीसँग साक्षात्कार गर्दै गोसाइँकुण्ड जाँदा भू-स्वर्गको अनुभूति हुन्छ। धुन्चेमा स्थानीय उत्पादन आलु र गुराँसको वाइन पाइन्छ भने चन्दनबारीमा चिज र मख्खन उपलब्ध हुन्छ।
कसरी पुग्ने ?
गोसाइँकुण्ड पुग्ने चारवटा बाटा छन्। त्यसमध्ये बढी प्रचलित र सुगम मानिएको मार्ग हो— बालाजु-धुन्चे-चन्दनबारी-लौरीविनायक हुँदै तेस्रो दिन गोसाइँकुण्ड। दोस्रो मार्ग हो— सुन्दरीजल-चिसापानी-ठाडेपाटी-घोप्टे-लौरीविनायक भन्ज्याङ हुँदै चौथो दिन गोसाइँकुण्ड। तेस्रो मार्ग हो— मेलम्ची-किडल, तार्केघ्याङ-ठाडेपाटी-घोप्टे पाँचौं दिन गोसाइँकुण्ड। चौथो मार्ग हो— नगरकोट-पाटीभन्ज्याङ-कुटुम्साङ-ठाडेपाटी-घोप्टे हुँदै पाँचांै दिन गोसाइँकुण्ड।
६-७ हजार रुपैयाँको जोहो गरेर मिल्ने साथीहरूका साथ गोसाइँकुण्डको धार्मिक पर्यटन यात्रामा निस्कँदा काठमाडौँको गर्मी र धूवाँधुलोले थलिएको शरीर एवं मनलाई रि-इनर्जाइज गरी चार-पाँच दिनमा काठमाडौं र्फकन सकिन्छ। लालीगुराँसको रसास्वादन गर्दै प्रकृतिसँगको एकाकारमा आफूलाई चिन्ने र आत्मबोध गर्ने अपूर्व अवसर प्राप्त हुने भएकाले यो मौसम गोसाइँकुण्ड यात्राका लागि अत्युत्तम छ।
एल.पी. शर्मा

