साप्ताहिक संवाददाता
इन्टरनेटबाट । गुगल सर्च गर्दा दक्षिण भारतको नौ वर्षको बालकले चलचित्र निर्देशन गरेर गिनिज बुकमा नाम दर्ता गरेको तथ्य फेला पर्यो । मलाई पनि त्यतिबेला आठ वर्ष पुग्न लागेको आफ्नो छोराबाट त्यो किर्तिमान तोड्न मन लाग्यो ।
यो कुरा त अभिभावकले आफ्नो इच्छा पूरा गर्न बालकलाई दबाब दिएजस्तो भएन ?
यसमा उसको इच्छा पनि जोडिएको छ । मैले दबाब दिएको छैन । उसलाई रहर नहुँदो हो त म यति धेरै लगानीमा चलचित्र बनाउने रहर पनि गर्दिनथेँ ।
मानिसहरू आठवर्षीय सौगात विष्टले नै चलचित्र निर्देशन गरेको कुरालाई पत्याइरहेका छैनन् नि ?
सौगातको काम नजिकबाट नियालेकाहरूले पत्याएकै छन् । नपत्याउने कुनै आधार छैन । नपत्याउनेहरूले त गुगलमा 'गिनिज बुक वल्र्ड रेकर्डस् बाई चिल्ड्रेन' टाइप गर्दा आउने कीर्तिमानमा समेत शंका गर्लान् ।
गिनिज बुकमा नाम लेखाउनकै लागि चलचित्र निर्माण गरिएको हो ?
भाइ गम्भीरले लेखेको एउटा राम्रो स्क्रिप्टमा चलचित्र बनाउने कुरा आउनु र सौगातमा हामीले उमेरभन्दा बढी यो क्षेत्रको ज्ञान भएको पाउनुको संयोगले गर्दा 'लभ यु बाबा' निर्माण गरियो । गिनिज बुकमा नाम दर्ता गराउन पाउनु एउटा महत्त्वपूर्ण पाटो हो भने राम्रो कथामा चलचित्र बनाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नु अर्को विशेष पाटो हो ।
चलचित्रमा आफै नायक हुनुभएछ ?
नायकभन्दा पनि चलचित्रको एउटा मुख्य चरित्र निर्वाह गरेको हुँ ।
आफ्नै होम प्रोडक्सनमा आफू र छोरी मुख्य भूमिका, छोरा निर्देशक, भाइ स्क्रिप्ट राइटर र कोरियोग्राफर हुनुहुन्छ । परिवारबाहिरका अरूलाई पनि काम छाड्नुभएको छ ?
म चलचित्रमै काम गर्छु । छोरी बालकलाकार नै हो । भाइले राम्रो स्क्रिप्ट लेख्छ र स्थापित नृत्य निर्देशक हुँदै हो । त्यसैले ती जिम्मेवारी हामीले लियौं । छायांकन, संगीत, द्वन्द्व निर्देशन, सम्पादनका साथै अरू मुख्य कलाकारको जिम्मेवारी अरू साथीहरूले बहन गर्नुभएको छ । सबैमा हामी मात्र छैनौं ।
त्यसो भए 'लभ यु बाबा’लाई दर्शकले 'लभ¹ अर्थात् माया गर्लान् त ?
यत्तिको चलचित्र चल्नुपर्ने हो । एउटा संवेदना बोकेको पूर्ण पारिवारिक एवं मनोरञ्जक चलचित्र भएकाले दर्शकहरूको माया पाइने कुरामा म ढुक्क छु ।
'लभ यु बाबा’बाहेक अरू केमा व्यस्त हुनुहुन्छ ?
पुनर्जन्ममा सैनिकको भूमिकामा छु भने 'अधकट्टी'मा फरक खालको चरित्र निर्वाह गरेको छु ।
केटीहरूका प्रेम प्रस्ताव त निकै आउँछन् होला ?
प्रस्ताव स्वीकार नै नगरेपछि उनीहरू अरूतिर लाग्छन् ।
जीवनमा गरिएको सबैभन्दा ठूलो गल्ती ?
म आफ्नो मनले गलत मानेको काम नै गर्दिन, त्यसैले मैले जीवनमा जे गरिरहेको छु सबै सही गरिरहेको छु ।
जान्नैपर्ने तर नजानेको काम ?
रिसाउन ।
बिहान उठ्दा लिंग परिवर्तन भएर सुन्दर युवती हुनुभएछ भने ?
छोरालाई फेरि चलचित्र निर्देशन गर्न लगाएर चलचित्रको शीर्षक 'लभ यु मम्मी' राख्छु ।
के कुरासँग सबैभन्दा बढी डर लाग्छ ?
सुम्पिएको काम समयमा गर्न नसकिएला कि भन्ने ।