पल शाह (नायक/मोडल)
चलचित्रमा नायक हुन निकै संघर्ष गर्नुपर्यो होइन ?
संघर्षभन्दा पनि म उपयुक्त समयको प्रतीक्षामा थिएँ ।
सुपरहिट सिक्वेल ‘नाइँ नभन्नु ल’को चौथो श्रृंखलामा काम पाउन के–कस्ता प्रयास गर्नुभयो ?
मेरो कुरा भैरहेको रहेछ । निर्देशक विकास आचार्यले बोलाउनुभयो, कुराकानी भयो र केही दिनपछि उहाँले फेरि बोलाएर म मुख्य नायकमा छनौट भएको जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया कस्तो रह्यो त्यो बेला ?
आफ्नो सपना पूरा हुने भएपछि म हर्षले रमाएँ । तत्काल उक्त भूमिकाप्रति न्याय दिन मैले गर्नुपर्ने मेहनतका लागि तयार भएँ । ‘नाइँ नभन्नु ल–४’ मेरो पहिलो चलचित्र हुनेछ । यो चलचित्रलाई मैले आफ्नो जीवनकै ‘आइरन गेट’ मानेको छु ।
चलचित्र ‘लभ बर्ड्स’’मा नायक हुने कुरा थियो नि ?
निर्देशक सुरेशदर्पण अमेरिका जानुभएकाले तत्काल उक्त चलचित्रको निर्माण नहुने कुरा सुनेको छु ।
तपाईंको ‘टर्निङ प्वाइन्ट’’ ?
हनिबनीको भिडियो । मेरो कजिन दाइ नितिन चन्द र म भएर उक्त भिडियो निर्माण गरेका थियौं ।
कतिवटा म्युजिक भिडियोमा काम गर्नुभयो ?
साढे दुई वर्षमा डेढ सयभन्दा बढी ।
अनमोल केसीकी मम्मी सुस्मिता बमजनको चलचित्रमा पनि अनुबन्ध हुनुभएछ ?
उहाँले निर्माण गर्ने चलचित्र ‘म त तिम्रै हुँ’मा म नायकको भूमिकामा छु । छायांकन तिहारपछि हुँदैछ ।
उहाँले अनमोललाई नलिएर तपाईंलाई किन लिनुभएछ ?
मलाई यस विषयमा केही थाहा भएन । यो कुरा उहाँसँगै सोध्नुहोला ।
तपाईं त भिजुअल सम्पादक पनि हो क्यार ?
पढ्न दाङबाट काठमाडौं आएपछि सानिमाका छोराहरू नितिन चन्द र नमित चन्दको संगतले सम्पादन सिकेँ । टिटिभीमा चार वर्ष सम्पादकको जागिर पनि खाएँ । दिल्लीबाट ग्राफिक्स र एनिमेसनको कोर्स पनि गरेँ । अहिले कहिलेकाहीँ पकेट मनीका लागि सम्पादन गर्छु ।
तपाईंको खराब लत ?
यदकदा पार्टीमा रक्सी पिउँछु, त्यो पनि थोरै । अब यसैलाई खराब मान्नुहुन्छ भने यही मेरो खराब लत हो ।
नजिककी सेलिब्रेटी महिला ?
वर्षा राउत, उनी मेरी अति मिल्ने साथी हुन् ।
अनि गर्लफ्रेण्ड नि ?
टिटिभीमा काम गर्दा त्यहींकी एउटी भिजेसँग तीन महिना प्रीत बसेको थियो । उनी नै मेरो पहिलो र अहिलेसम्मकी अन्तिम प्रेम हुन् ।
प्रशंसकहरू त मरिहत्ते गर्छन् रे नि ?
दुई सातामा एउटाका दरले प्रेम प्रस्ताव आइरहन्छ । दुईवटीले त हातै काटेर मेरो नाम लेखेका छन्, तर मलाई अहिले त्यसतर्फ चासो छैन ।
सेक्सी लाग्ने महिला सेलिब्रेटी ?
नम्रता श्रेष्ठ, मलाई उनी क्युट, बोल्ड, सेक्सी सबै लाग्छिन् ।
कुनै चलचित्रमा आफ्नी प्रेमिकाको भूमिकाका लागि वर्षा राउत र नम्रता श्रेष्ठमध्ये एउटा रोज्नुपर्यो भने ?
वर्षासँग त धेरै म्युजिक भिडियोमा काम गरिसकेँ । ‘नाइँ नभन्नु ल–४’ मा पनि वर्षा नै छिन् । अब रोज्नै पाइयो भने नम्रता रोज्छु ।
शारीरिक सामीप्यताको अनुभव ?
खुल्दुली र रहर पूरा गरिसकेँ । योभन्दा बढी नसोध्नुस् ।